कोरोना संक्रमण बढ्दै गए पछि वालवालिकाको जीवन रक्षाका लागि बैशाख ६ गतेको मन्त्रिपरिषदले देशभरका सहरी क्षेत्रका सबै शैक्षिक संस्था बैशाखभरलाई बन्द गर्ने निर्णय गर्यो । सरकारको निर्णयमा भौतिक रुपमा कक्षा सञ्चालन नगर्ने र बैकल्पिक बिधिबाट कक्षा सञ्चालनको कुरा पनि उल्लेख गरिएको छ । तर सरकारले अहिलेसम्म बैकल्पिक बिधिको प्रभावकारी अध्ययन अनुगमन गरेको छैन । सरकारले पुर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर सञ्चालन गर्न सकिने पनि जनाएको छ ।
सरकारले भनेका सहरी क्षेत्रमा पुर्वी नेपालको सिमाना जोडिएको सहर मेचीनगर नगरपालिका समेत परेको छ । सरकारको निर्णय अनुरुप नै मेचीनगर नगरपालिकाले समेत नगरका सबै बिद्यालय बन्द गरी बैकल्पिक बिधिबाट अध्ययन गर्न गराउने बैशाख ७ गते सूचना जारी गर्यो र सोही अनुसार बिद्यालयहरु पनि बन्द भएका छन ।
जब बिद्यालय बन्द भए तब मेचीनगरका केही निजि बिद्यालयका संञ्चालकहरुले बार्षिक परीक्षा सञ्चालन गर्नु पर्ने आवाज उठाउन थाल्नु भएको छ । केही प्रिन्सिपलहरुले त यो बेला बैकल्पिक सिकाई आवश्यक छैन, बिद्यालयले कोर्ष पुरा गरेका छन अब परीक्षा मात्र गराए हुन्छ भनेर समेत भनिरहेको अवस्था छ । सामान्य रुपमा हेर्दा पनि पढाइको अन्त्य तिरको अवस्था छ । अब बैकल्पिक बिधिबाट कक्षालाई निरन्तरता दिने भन्दा पनि परीक्षा गराउँदा ठिक हुन्छ । तर परीक्षाका बिषयमा केही छलफल र बहस गर्न जरुरी छ ।
सबैभन्दा पहिला परीक्षा सञ्चालन गर्नु पर्छ भनेर आवाज उठाइरहनु भएका बिद्यालय पक्षले परीक्षा कसरी गर्न सकिन्छ भन्ने खाकाको प्रस्ताव गर्नु पर्छ जस्तो लागेको छ । बिद्यार्थीहरुलाई बर्षभरि पढेर परीक्षा दिन नपाउँदा पक्कै पनि मानिसक तनाव त हुन्छ नै तर कोरोनाको संक्रमणको जोखिम उच्च रहेको बेला परीक्षा गराउने तौर तरिका के कस्ता हुन त यो बारेमा प्रसस्त बहस र छलफल हुन जरुरी छ ।
बिद्यालय पक्षले ल्याएको उचीत प्रस्तावलाई नगर सरकार र सम्बन्धीत शाखाले गभ्भिरता पुर्वक लिनु पर्छ । वालवालिकाको स्वास्थ्यलाई प्रतिकुल अवस्था नहुने गरी परीक्षा सञ्चालन गर्न सकिने अवस्था आए पक्कै पनि परीक्षालाई सञ्चालन गर्नु पर्छ । तर यहाँनेर एउटा भुल्नै नहुने पक्ष के हो भने खास गरी निजि बिद्यालय सञ्चालकहरुले साच्चै बिद्यार्थीको भविश्यका लागि परीक्षा सञ्चालन गर्न लाग्नु भएको हो वा अभिभावकबाट शुल्क उठाउन मात्रै परीक्षा गर्नु पर्छ भनेर भनिएको हो । यो बिषय स्पष्ट रुपमा छलफलमा आउनु जरुरी छ । यसो भनिरहँदा कक्षा सञ्चालन भएको शुल्क लिनै हुँदैन भन्ने मेरो कुरा होईन । कुरा मात्र के हो भने बिद्यालय पक्षको प्राथमिकता के हो भन्ने कुरा आम रुपमा बाहिर आउनु जरुरी छ ।
बिद्यार्थीको शुल्क नउठाउने हो भने पक्कै पनि कुनै पनि निजि बिद्यालय सञ्चालन हुन सक्दैन । त्यसैले शुल्क उठाउनु र उठ्नु अत्यावश्यक कुरा हो । तर शुल्क उठाउनकै लागि वालवालिकाको स्वास्थ्य जोखिममा राखेर जसरी पनि परीक्षा सञ्चालन हुनु पर्छ भन्ने कुरा हुन सक्दैन । त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राखेर परीक्षा सञ्चालन गर्ने बिषय छलफलको केन्द्रमा हुनु पर्छ ।
गतबर्ष पनि कोरोनाका कारण बिद्यालयहरु लामो समय बन्द भए । केही बैकल्पिक कक्षाहरु मार्फत कक्षा सञ्चालन पनि भए । थुप्रै बिधिहरु अपनाएर पनि सिकाई सहजीकरण भएका उदाहरण हामीसंग प्रसस्तै छन । गत बर्ष पनि विभिन्न किसिमबाट बिद्यार्थीहरुको शुल्क भुक्तानी भएका छन । भलै त्यो पूर्ण थियो थिएन त्यसको तथ्याङ्क मसंग उपलब्ध छैन । तर मेचीनगरका अधिकाशं निजि बिद्यालयहरुले कुनै न कुनै तरिकाले शुल्क लिएको जानकारी छ ।
एकातर्फ शुल्क लिएको अवस्था छ तर अर्को तर्फ निजि बिद्यालयमा अध्ययन गराउने शिक्षकहरुलाई कोरोना कालको पारिश्रमिक भुक्तानी नगरेको थुप्रै गुनासो पनि सुनिएको छ । त्यसैले परीक्षा गराउनु पर्छ भन्दै गर्दा बिद्यार्थीको शुल्क उठाउने र सम्बन्धीत शिक्षकहरुलाई पारिश्रमिक भुक्तानी गर्ने कुरा पनि अब संगसंगै छलफल हुनु अत्यावश्यक भएको छ ।
नगरसरकारले चाहेमा र बिद्यालयहरुले सकरात्मक सहयोग गरेमा अहिलेकै अवस्थामा वालवालिकाहरुको स्वास्थ्यलाई केन्द्रमा राखेर बार्षिक परिक्षा सञ्चालन गर्न सभ्भव छ ।