विराटनगर,बैशाख ५ । विपक्षी दलहरुको विरोधपछि प्रदेश १ को सातौँ प्रदेशसभा अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुखको पत्र सभामुख प्रदिपकुमार भण्डारीले बाचन गर्नुभएको छ ।
माघ ७ गते सुरु भएको प्रदेशसभा अधिवेशनको अन्तिम दिन प्रदेशसभालाई सम्बोधन गर्न मुख्यमन्त्री शेरधन राई उपस्थित भएपनि विपक्षी दलको विरोधको कारण बोल्न पाउनु भएन ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए । प्रदेश सरकारले विपक्षीसँग सहमति खोज्नुभन्दा अधिवेशन नै अन्त्य गर्ने निर्णय लिएको छ ।
आइतबारको बैठक पनि सुरु हुनसाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । सभामुख भण्डारीले विपक्षी दलहरुले उठाएको विषयको जवाफ दिन मुख्यमन्त्री उपस्थित भएको भन्दै सांसदहरुलाई बस्न अनुरोध गर्नुभएको थियो । तर, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफ्नै आसनबाट मुख्यमन्त्रीको भाषण सुन्न आफुहरु नआएको बताउँदै आफ्ना मागहरुको व्यवहारिक सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताएपछि मुख्यमन्त्रीले सम्बोधन गर्न पाउनु भएन ।
प्रदेशसभाको यो अधिवेशनको कुनैपनि बैठकमा उपस्थित नहुनु भएका मुख्यमन्त्री राई अधिवेशन अन्त्य गर्ने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पठाएर बैठकमा सम्बोधन गर्ने भन्दै सभामा पुग्नु भएको थियो । तर, विपक्षीको विरोधले सम्बोधन गर्न नपाई फर्कनुप¥यो । विपक्षीले विरोध जनाइरहेको बेला प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको पत्र सभामुख भण्डारीले पढेर सुनाउनु भएको थियो ।
बिधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनमा एउटा पनि बिधेयक प्रदेशसभामा टेबलसमेत भएन । प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा बिधेयक प्रदेशसभा सचिबालयमा लगेको भएपनि प्रदेशसमा त्यसले प्रवेश नपाई सरकारले अधिवेशन अन्त्य गरेको हो ।