काकरभिट्टा, चैत ३१ ।
काकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पद हस्तान्तरण समारोह आज सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको सभापत्वि र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वार्चित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले पद हस्तान्तरण गरेको थियो । सोही अवसरमा नवनिर्वाचित लेखा समितिलाई समेत पुरानो लेखा समितिले पद हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सबै नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्याउनु सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । वहाँले अरु क्षेत्रका बजेट कटौती गरेर भए पनि खानेपानी आयोजनाका लागि बजेट ब्यवस्थापन गर्ने प्रदेश सरकारको निति रहेको समेत स्पष्ट पार्नु भयो । काकरभिट्टा खानेपानी संस्थामा धारा जोड्नेक्रम तिब्र रुपमा बढीरहेकाले माग अनुसारको पानी बितरण गर्न थप बोरिङ जडानका लागि समेत पनि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने मन्त्री कार्कीले प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य रबिन कोइरालाले काकरभिट्टाको जनसंख्या दैनिक बढ्दै गएको र खानेपानीको स्रोत समेत साँगुरो हुँदै गएकाले त्यसको ब्यवस्थापनमा लाग्न नया कार्यसमितिलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणी उप्रेती, मेचीनगरका उपप्रमुख मिना उप्रेती, काकरभिट्टा खानेपानीका निवर्तमान अध्यक्ष हर्क फ्याक, धुलाबारी खानेपानीका अध्यक्ष अजय घिमिरे, काकारभिट्टा खानेपानीका नवनिर्वाचित अध्यक्ष राजकुमार पराजुली, निर्वाचन समिति सदस्य रमेशकुमार दाहाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
प्रदेश सांसद श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकीको समेत उपस्थिति रहेको कार्यक्रम निर्वाचन समिति सदस्य सुभद्रा अर्यालको स्वागत मन्तब्य तथा ज्ञानेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमका बीच निर्वतमान अध्यक्ष हर्क फ्याकले नवनिर्वाचित अध्यक्ष राजकुमार पराजुलीलाई अध्यक्षीय पद हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै अन्य पदाधिकारी र सदस्यहरुले समेत आ आफ्नो पद नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।