काठमाडौं, चैत ३०। मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।
नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्ने भएको छ ।
मन्त्रीपरिषद्को सोमबार साँझ बसेको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।
सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने भएको छ ।
उप(प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने हुनु भएको छ ।
यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलनसहितको छलफल मन्त्रिपरिषद्मा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।
संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दबाब भएपनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।
सोमबार मात्रै मुलुकमा ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ । विज्ञहरुले कोरोनाको दोस्रो लहर थप जोखिमपूर्ण हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार संक्रमित हुनेमा २४ जना १८ वर्षमुनिका बालकबालिका थिए ।