बिर्तामोड, चैत २३ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा झापा आइपुग्नु भएको छ । आज बिहान झापा आइपुग्नु भएका देउवाले प्रजातान्त्रीक आन्दोलनकी आगुवा स्वर्गिय गिरिराजकुमारी प्रसाईलाई श्रद्धाञ्जली दिन र परिवारसंग भेट गर्न चन्द्रगढी बिमानस्थलबाट सोझै बिर्तामोड स्थीत प्रसाई निवासमा पुग्नु भएको थियो ।
कांग्रेसका सभापति देउवाले राजनीति मार्फत गिरिराजकुमारी प्रसाईंले खेलेको भूमिका अनुकरणीय भएको बताउनु भयो । प्रसाईंको १२ पुन्यतिथिको दिन कांग्रेस झापाले आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले सिके प्रसाईं र गिरिराजकुमारीले देखाएको बाटोमा हिड्नु पर्ने आवश्यकता औंल्याउनु भयो । तत्कालीन सरकारले सर्वस्वहरण गर्दा र निर्वासनमा रहँदा समेत प्रसाईं परिवारले खेलेको भूमिका समाज रुपान्तरणमा महत्त्वपूर्ण भएको तर्क सभापति देउवाको छ ।
वहाँले गिरिराजकुमारीलाई संयम र समन्वय गर्न सक्ने महिलाको संज्ञा दिनु भयो । ६ जनाभन्दा बढी केन्द्रीय सदस्य सहित झापा आइपुग्नु भएका सभापति देउवाले राजनीति बिषयमा प्रवेश नै नगरी आफ्नो भनाइ अन्त्य अन्त्य गर्नु भयो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गिरिराजकुमारी महिला नेतृ मात्र नभइ सबैको नेता भएको बताउनु भयो । कांग्रेस प्रवक्ता विष्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, प्रसाईं परिवारकी सदस्य रमिता प्रसाईं लगायतले बोलेको श्रद्धाञ्जलीसभामा वक्ताले सीके प्रसाईं र ज्ञानु प्रसाईंले कल्पना गरेको समाज निर्माणमा जुट्नु कांग्रेसले सक्नु पर्ने धारण राखे ।
वहाँहरूले सीके प्रसाईंलाई त्यो बेलाको गुगलको संज्ञा दिए । वहाँहरूले प्रसाईं परिवारले बिलासी जीवनको कल्पना नै नगरेको बताए । प्रसाईं दम्पति जनस्तरका मानिससँग सम्बन्ध भएको व्यक्ति भएको उल्लेख गर्दै वहाँहरूले गिरिराजकुमारी असल आमा ,गृहणी, दिदी, भाउजु भएको बताए । प्रसाईं परिवार साधारण र निम्न स्तरीय मानिसको चासो राख्ने परिवार भएको बताएका वहाँहरुले देखाएको बाटोमा रुपान्तरण हुन र गर्न सकिन्छ कि सकिन्न चुनौती रहेको तर्क गरे । बीपीको प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने सीके प्रसाईं र कार्यान्वयनमा लाने गिरिराजकुमारी प्रसाईं सिद्धान्तबाट बिचलित नभइ समाजलाई रुपान्तरण गर्ने साहसी महिला भएको बताए ।