काँकरभिट्टा, चैत २१ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी ३ बर्षे कार्यकालका कार्यसमिति छनौट गर्न हिजो भएको मतदानको मतगणना आज हुँदैछ । आज बिहान ८ बजेदेखि काकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा हुने मतगणनाको परिणाम आज बेलुकासम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ । खानेपानीका कुल मतदाता ५२५९ मध्ये ३९५६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
खानेपानीको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको लोकतान्त्रीक प्यानलले अध्यक्षमा हर्क फ्याक र सचिवमा दिलिपजङ सुब्बा चुनावी मैदानमा छन भने एमाले र राप्रपाको गठबनधनले अध्यक्षमा राजकुमार पराजुली र सचिवमा चन्द्रप्रसाद निरौलालाई मैदानमा उतारेको छ । त्यस्तै संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले लिलानाथ आङदेम्बेको नतृत्वमा उम्मेद्वार दिएको छ ।
यस अघिको अवस्थालाई बिश्लेशण गर्दा काँग्रेस, माओबादी र जसपा बिचको गठबन्धनको मत बढी देखिन्छ । तर ब्यक्तिगत प्रभाव र आपसी सम्बन्धमा हिसावले हेर्दा एमाले र राप्रपा गठबन्धनका उम्मेद्वारहरु पनि बलियो देखिएका छन ।
अध्यक्षका तीन जना उम्मेद्वार नै वडा नं. ६ काकरभिट्टा कै रहेकाले काकरभिट्टा क्षेत्रले कसलाई बढी मत दिन्छ त्यो उम्मेद्वारले नै बाजी मार्ने अवस्था देखिन्छ । मेचीनगर वडा नं. ३,५,६,७ र ८ मा उपभोक्ता रहेको काकरभिट्टा खानेपानीको सबैभन्दा धेरै मतदाता वडा नं. ६ काकरभिट्टा क्षेत्रमा नै छन । त्यसैले काकरभिट्टाको मत निर्णायक हुने निश्चीत छ ।
यो पटकको चुनावी अवस्था र उम्मेद्वारहरुको ब्यक्तिगत प्रभावलाई नजिकबाट हेर्दा दलहरुले गरेको गठबन्धनका आधारमा उपभोक्ताले कमै मतदान गरेको अनुमान गरिएको छ । उम्मेद्वारको ब्यक्तिगत प्रभावमा नै मतदान भएको आँकलन गरिएको छ । तसर्थ यो पटक काकरभिट्टा खानेपानीको चुनावी नतिजा दुई मुख्य गठबन्धनका उम्मेद्वारले जित्ने र मिश्रीत प्रकारको परिणाम आउने देखिएको छ ।
आगामी ३ वर्षे कार्यकालका लागि कार्य समिति र लेखा समिति गरी कुल १२ पदमा ३१ जना चुनावी प्रतिस्पर्धामा छन ।