झापा, चैत १७ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालय बन्द गर्ने निर्णय गरेता पनि झापाका केही बिद्यालयहरु सञ्चालनमा आए पछि शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय झापाले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न सम्बन्धीत पालिकालाई पत्राचार गरेको छ ।
‘वालवालिकाको स्वास्थ्यलाई ध्यानदिएर शिक्षा मन्त्रालयले बिद्यालय बन्द गर्ने भने पनि झापाका केही बिद्यालयहरु सञ्चालनमा आएको सुन्नमा आएकाले तत्काल निर्णय कार्यान्वयन गरी बिद्यालय बन्द गर्न पालिकाहरुलाई पत्राचार गरेका छौं ।’ शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिकले भन्नुभयो,‘सरकारको निर्णय मान्दिन भन्न पाइदैंन, सरकारले विज्ञहरुसंगको छलफलबाटै यो निर्णय गरेको हो त्यसैले कार्यान्वयन गर्नै पर्छ ।’
मेचीनगर नगरपालिकाका केही बिद्यालयहरु सञ्चालन भएको भनी मेचीनगर ७ का ज्ञानेन्द्र निरौलाले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी नै दिएको र त्यसको बोधार्थ शिक्षा समन्वय इकाइलाई समेत दिएको हुँदा मेचीनगरलाई पत्राचार नै गरेर बिद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय निमानूसार कार्यान्वयन गर्न भनिएको बिकले बताउनु भयो ।
बिद्यालयस्तरको शिक्षाको अधिकार स्थानीय पालिकाहरुलाई भएको र शिक्षा मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्ने जिम्मा पनि पालिकाहरुकै भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भयो । प्रजिअ तिम्सिनाले भन्नुभयो, ‘जिल्ला शिक्षा समन्वय इकाइ मार्फत मन्त्रालयको निर्णय कार्यन्वयन गराउन सहजीकरणको काम गरेका छौं ।’
यसैबिच झापाको दमक नगरपालिकाले नगरभित्रका सबै बिद्यालयहरु चैत २० गतेसम्म बन्द गर्न बिद्यालयहरुलाई पत्राचार नै गरेको छ । शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न नगरभित्रका सबै बिद्यालयहरु बन्द गर्न भनिएको छ । दमक नगरपालिकाले बिद्यालय बन्द भएको बेला सबै वालवालिकाहरुलाई घरभित्रै राख्ने ब्यवस्था गर्न पनि अभिभावकहरुलाई अनुरोध समेत गरेको छ ।
त्यस्तै भद्रपुर नगरपालिकाले समेत शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्दै चैत २० गतेसम्म नगरभित्रका सबै बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सुचना नै प्रकासित गरी बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
वातावरण प्रदुषणका कारण वालवालिकामा पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सरकारले आजदेखि चैत २० गतेसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।