झापा, चैत १७ ।
अहिले भइरहेको वातावरण प्रदुषण मानव स्वास्थ्यको लागि हानिकारक रहेको चिकित्सकहरुले बताएका छन । अहिलेको अवस्थामा वालवालिकाहरुमा सास फेर्न गारो हुने र निमोनियाको समस्या अत्याधिक बढेको वाल रोग बिशेषज्ञ डा रुपक आचार्यले बताउनु भयो । सेतोपत्रसंग कुरा गर्दै डा आचार्यले भन्नुभयो, ‘प्रदुषणकै कारण सास फेर्न गारो हुने, निमोनिया भएका वालवालिका र एलर्जीका बिरामी अत्याधिक बढेका छन ।’ डा आचार्यका अनुसार केही दिनदेखि प्रदुषणकै कारण स्वास्थ्य समस्या भएर उपचार गराउन आउने वालवालिकाहरुको संख्या ९० प्रतिशतले बढेको छ ।
एकै पटक धेरै वालवालिकाहरुमा समस्या नओस भनेर नै सरकारले बिद्यालयहरु बन्द गराएको डा आचार्यले बताउनु भयो ।
अहिलेको अवस्थामा यस अघि नै औषधी खाँदै गरेको वा दीर्घ रोगीहरुलाई सबैभन्दा बढी समस्या हुने बरिष्ठ फिजिसियन डा गोबिन्द कँडेलले बताउनु भयो । ‘दम, पक्षघात, पहिला हार्ट एटेक भएका बिरामी, प्यारालाइसेस भएका बिरामीहरुलाई धेरै नै असर गर्छ ।’ डा कँडेलले सेतोपत्रसंग भन्नुभयो, ‘यो बेला स्वस्थ मानिसहरुमा पनि आँखा पोल्ने, टाउको दुख्ने, रिङटा लाग्ने समस्या हुन्छ ।’ यो बेला सकेसम्म घर भित्रै बसेको राम्रो हुने डा कँडेलले बताउनु भयो ।
वातावरणसंग मानिसको छालाको अत्यन्तै नजिकको सम्बन्ध हुने भएकाले वातावरणमा पर्ने प्रभावले मानिसको छालामा समेत समस्या आउने बरिष्ठ छाला रोग बिशेषज्ञ डा माधव गौतमले बताउनु भयो ।
‘वातावरण र छाला एकअर्कासंग सम्बन्धीत हुन्छन, वाहिरी वातावरण बिग्रियो भने मानिसको छाला पनि बिग्रने खतरा बढी हुन्छ ।’ सेतोपत्रसंग कुरा गर्दै डा गौतमले भन्नुभयो, ‘मानिसको छाला पिएच भ्याल्यु अनुसार चल्ने भएकाले वातावरण प्रदुषण हुने बित्तिकै छालामा नकरात्मक असर देखा पर्छ ।’
अहिलेको अवस्थामा पोतो आउने, चाया पर्ने जस्ता समस्या बढी हुने गरेको डा गौतमले बताउनु भयो । यो बेला घर बाहिर ननिस्किनु नै राम्रो हुने डा गौतमको भनाई छ ।