काँकरभिट्टा, चैत १६ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा राजनितिक दलसम्बन्ध गठबन्धनका उम्मेद्वारहरुले निर्वाचन आचार संहिता उल्लघंन गरेको आरोप लागेको छ । दुई वटा गठबन्धनका उम्मेद्वारहरुले नै निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन समितिमा कारवाहीका लागि निवेदन दर्ता भएको छ ।
आगामी चैत २१ गते शनिवार हुने समितिको निर्वाचनमा उम्मेदवारी दर्ता गराएको नेकपा एमाले र राप्रपाको गठबन्धन साझा उम्मेदवार र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेदवारले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि आचार संहिता उल्लघन गरेको भन्दै उपाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सुवेदी किरणले निर्वाचन आयोगको कार्यालयमा सोमबार मुद्दा दर्ता गराएको निर्वाचन समितिले पुष्टि गरेको छ ।
निर्वाचन समितिले जारी गरेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि १८ बुँदे आचार संहिताको ३ नम्वर बुँदामा प्रचार प्रसारका क्रममा पेपर मिडिया (पत्रपत्रिका) तथा इलेक्ट्रोनिक मिडिया (टेलिभिजन / रेडियो) मा विज्ञापन गर्न नपाईने उल्लेख छ ।
तर, दुवै समूहका उम्मेदवारले निर्वाचन समितिले जारीको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्बन्धि आचार संहिताको उल्लघन गर्दै निर्वाचन समितिलाई चूनौती दिदैं दैनिक र साप्ताहिक पत्रिकामा उम्मेदवारको फोटो सहित प्रचारका विज्ञापन गरेको भन्दै आफुले निर्वाचन समितिमा कारवाहीका लागि मुद्दा दर्ता गरेको सुवेदीले बताउनु भयो । उहाँको मुद्दाको दर्ता नम्वर ०१ रहेको छ ।
यस विषयमा दुवै समूहका प्रचार प्रसार समितिका संयोजकहरूले अनविज्ञता प्रकट गरेका छन । ‘प्रचार प्रसार समितिले यस्तो काम गरेको छैन, र हामीले हेरेका पनि छैनौ,कुनै शुभचिन्तकहरूले छापे होलान ।’ लोकतान्त्रिक प्यानलका प्रचार प्रसार समितिका संयोजक सुर्यप्रकाश उप्रेतीले भन्नुभयो, ‘के भएको हो हामी बुझ्छौ ।’ तर, सुवेदीले विज्ञापन प्रकाशित पत्रिका समेत निवेदनमा संलग्न राखेर कडा भन्दा कडा कारवाहीको माग गर्नुभएको छ । उता स्वतन्त्र समूहका प्रचार प्रसार समितिका संयोजक देवकुमार राईले पनि यश विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो । ‘निर्वाचन आचार संहिता सवैले पालना गर्नु पर्दछ । उहाँले भन्नुभयो, यसवारे हामीलाई थाहा छैन, यति त्यस्तो भएको ठहर भए निर्वाचन समितिले फैसला गर्ला ।’
उपाध्यक्ष पदका उम्मेदवार सुवेदीले यस विषयमा मुद्दा दर्ता गरेको समितिले पुष्टि गरेको छ । समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले मंगलबार वैठक बसेर यसको किनारा लगाउने बताउनुभयो ।