मेचीनगर, चैत १४ । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको मेचीनगरमा दुई वटा समानान्तर नगर कमिटि गठन भएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समुहको दुई फरक युवा संघ नगर कमिटि गठन भएको हो । दुवै समुहले आ आफ्नो नगर कमिटि आधिकारीक भएको दाबी गरेका छन ।
चैत ७ गते काकरभिट्टा खानेपानी संस्थाको सभाहलमा ओली समुहले युवासंघ नेपाल मेचीनगर कमिटिको ८औँ नगर सम्मेलन आयोजना गरेर मान बहादुर तामाङको अध्यक्षतामा नगर कमिटि गठन गरेको थियो । उक्त समितिको उपाध्यक्षमा बेग सुनुवार र सचिवमा बिवेक खवास चयन भएका थिए ।
तर आज एमालेको माधव नेपाल समुहले इटाभट्टास्थीत किरात याक्थुम चुम्लुङको सभाहलमा युवा संघ मेचीनगरको ८ औं नगर सम्मेलनको आयोजना गरी सरोज मेहराको अध्यक्षतामा नगर कमिटि गठन गरे पछि मेचीनगरमा युवा संघका दुई समानान्तर कमिटि अस्तित्वमा आएका छन । मेहराको अध्यक्षतामा रहेका कमिटिमा चार उपाध्यक्षहरु सागर लिम्बु, तिलक बस्नेत, तिलक श्रेष्ठ र रत्न लिम्बु चयन भएका छन भने सचिवमा मेहरलाल धिमाल चयन गरेको छ ।
मेहराको नेतृत्वको युवा संघले मेचीनगरका पन्धै्र वटा वडामा वडा इन्चार्ज तोकेको छ । जस्मा वडा नम्बर १ मा विनिता तामाङ, २ मा विक्रम खड्का, ३ मा चन्द्र थापा मगर, ४ मा इश्वर पाण्डे, ५ मा शेखर भण्डारी, ६ मा रोसन रिमाल, ७ मा यज्ञ घिमिरे, ८ मा तेजन राजबंशी चयन भएका छन । त्यस्तै वडा नम्बर ९ मा अनुप संग्रौला, १० मा सोमनाथ ओझा, ११ मा श्याम धिमाल, १२ मा फुर्वा तामाङ, १३ मा नर्वु लामा, १४ मा राजेन्द्र चौहान र १५ मा कृष्ण राजबंशी छन ।
युवा संघका जिल्ला कमिटि सदस्य तथा झापा क्षेत्र नं. १ का इन्चार्ज नारायण खनालले मान बहादुर तामाङ नै आधिकारीक युवा संघको मेचीनगर कमिटि रहेको बताउनु भयो । खनालले सेतोपत्रसंग कुरा गर्दैै भन्नुभयो,‘तामाङ नेतृत्वको कमिटिलाई एमालेको जिल्ला कमिटि र युवा संघको केन्द्रीय समितिले आधिकारीकता प्रदान गरिसकेको छ ।’
युवा संघ मेचीनगरका बहुसंख्यक सदस्यहरु मेहराले नेतृत्व गरेकै कमिटिमा रहेकोले मेहराले नेतृत्व गरेकै कमिटि आधिकारीक युवा संघको नगर कमिटि भएको एमाले जिल्ला कमिटि सदस्य अर्जुन पौडेलले बताउनु भयो । सेतोपत्रसंग कुरागर्दै पौडेलले भन्नुभयो,‘चैत ७ को भेलाले गठन गरेको युवा संघ नितान्त गुटगत कमिटि हो तर आज गठन गरेको युवा संघ बहुसंख्यक युवाहरुको सहभागितामा गठन गरिएको छ, त्यसैले मेहरा नेतृत्वको युृवा संघ नै आधिकारीक हो ।’
चैत ७ गतेको युवा संघको नगर सम्मेलनमा ओली समुहका नेताहरुको सहभागिता रहेको थियो भने आज सम्पन्न सम्मेलनमा माधव समुहका एमाले नेताहरुको उपस्थिति रहेको थियो । यस अघि पनि युवा संघ मेचीनगरको अध्यक्ष मेहरा नै हुनुहुन्थ्यो ।