झापा, चैत २ ।
सर्बोच्च अदालतको फैसलाबाट नेकपा बिभाजित भई एमाले र माओबादी केन्द्र अस्तित्वमा आए पछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा जिल्ला पार्टी कार्यालयका जिन्सी सामान भागबण्डा गरेका छन । दुई पार्टी एकिकरण भएर नेकपा बने पछि तत्कालिन एमालेको पार्टी कार्यालयलाई नै नेकपाको जिल्ला पार्टी कार्यालय रहने गरी दुवै पार्टीका सामान एकै ठाउँ राखिएको थियो । नेकपा बिभाजित भए पछि एमालेले पुर्ववत रुपमा पार्टी सञ्चालनमा ल्याए पछि त्यहाँ रहेको माओबादी केन्द्रबाट ल्याइएको जिन्सी सामान फिर्ता लगिएको माओबादी केन्द्र झापाका नेता बिजय साम्पाङ्गले बताउनु भयो ।
साम्पाङ्गका अनुसार माओवादी केन्द्रका कार्यकर्ताले अहिलेको एमाले कार्यालयबाट ३०० प्लाष्टिकका कुर्सी, तीनवटा दराज, टेबल, सोफा, कम्प्युटर, फोटोकपी मेशिन, प्रिन्टरलगायतका सामान लगेका हुन्। । एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकसंगको समन्वय र एमाले कार्यालय सचिब शिव ढुंगेलको रोहबरमा जिन्सी सामग्री लगिएको साम्पाङ्गले बताउनु भयो ।
माओबादी केन्द्रले जिल्ला कार्यालय सञ्चालन गरेको बिर्तामोडस्थीत गौरीशंकर स्मृति प्रतिष्ठान भएको भवनमा ती सामान राखिएको माओबादी केन्द्रले जनाएको छ ।
सहमतिका साथ जिन्सी सामानको बाँडफाँड गरे पनि दुई पार्टी बिच नगदको बाँडफाँडमा भने सहमति जुटिसेको अवस्था छैन । नेकपा पुर्ववत रुपमा एमाले र माओबादी केन्द्र भए पछि सहमतीमा नै नेकपा झापाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड र एक्सल बैंक बिर्तामोडमा रहेको खाता रोक्का गरिएको छ ।
‘माओबादी साथीहरुले ल्याएको सामान सल्लाहा मै फिर्ता लानु भएको हो ।’ नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले सेतोपत्रसंग भन्नुभयो, ‘नगदका बिषयमा पनि खासै समस्या छैन ।’ पाठकका अनुसार एमालेका २४ हजार र माओबादी केन्द्रका ७ हजार लेबी तिर्ने पार्टी सदस्य भएकाले सोही अनुसार नगदको बाँडफाँड हुनेछ । ‘नगद वाँडफाँडको आधार आधार पार्टी सदस्य संख्या नै हो ।’ पाठकले भन्नुभयो, ‘माओबादीमा गएं भनेर लेबी तिरेको रसिद देखाउने बित्तिकै वहाँको रकम फिर्ता हुन्छ ।’
साविक नेकपाको नाममा बिर्तामोडस्थीत राष्ट्रिय वाणिज्य बैंक र एक्सल बैंकको खातामा गरी २५ लाख भन्दा बढी रकम रहेको माओबादी केन्द्रको दाबी छ । बैंकमा रहेको रकम र कार्यकर्ताबाट उठ्न बाँकी रहेको लेवी समेतको रकम बाँडफाँड गर्नु पर्ने माओबादी केन्द्रका एक जिल्ला नेताले सेतोपत्रसंग बताउनु भयो ।