मेचीनगर, चैत १ ।
मेचीनगर नगरपालिका शिक्षा क्षेत्रको बिकासमा उदाशिन देखिएको सरोकारवालाहरुले आरोप लगाएका छन । गत शुक्रबार धुलाबारीमा आयोजित शैक्षिक सवालका बिषयमा केन्द्रीत अन्तक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मेचीनगर नगरपालिकाले शिक्षा क्षेत्रको विकास, शिक्षक र बिद्यालय कर्मचारीका समस्याका बिषयमा उदासिनता देखाएको आरोप लगाएका हुन ।
नेपाल शिक्षक महासंघ मेचीनगरको आयोजनामा सम्पन्न सामुदायिक विद्यालयका प्रधानअध्यापक, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक सम्बद्ध संघ संगठनका नेतृत्व र अगुवा शिक्षकहरुको भेलाका सहभागिहरुले कोभिडको महामारीमा आफ्नो छाक टारेर शिक्षकहरुले नगरपालिकालाई आर्थिक सहयोग गरेको भए पनि शिक्षकहरु स्वयम कोभिडका कारण मृत्यु हुँदा समेत पनि नगरपालिकाले समवेदनासम्म ब्यक्त नगरेको बताएका थिए ।
शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल(केशब) को सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा बोल्दै शिक्षक महासंघ झापाका निवर्तमान अध्यक्ष तेजप्रसाद चौलागाईले शिक्षक र कर्मचारीको समस्यामा मेचीनगर नगरपालिका गैरजिम्मेवार रुपमा प्रस्तुत हुने गरेको आरोप लगाउनु भएको थियो । कोभिडको संक्रमण बाट भर्खरै निधन हुनु भएका मेचीनगर २ स्थीत मेची जनसाधारण मा बि का शिक्षक डालिम रोशन कास्यप प्रती मेचीनगर नगरपालिकाले सहानुभुतिसम्म प्रकट गर्न नसकेको भन्दै चौलागाइले मेचिनगरका शिक्षकहरुले आफ्नो गाँस काटेर कोभिड ब्यवस्थापन कोषमा ७ लाख रुपैंया जम्मा गरेको नगरपालिकाले बिर्सिएको समेत बताउनु भयो ।
शिक्षक संगठन झापाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले मेचीनगरले जारी गरेको शिक्षा ऐन र नियमावली प्रति गभ्भिर असहमति रहेको बताउनु भयो । अधिकारीले संघिय शिक्षा ऐन जारी नभइ स्थानीय तहले शिक्षा ऐन लागु गर्न नहुने बताउनु भयो । संघिय ऐन आए पछि मात्रै शिक्षा क्षेत्रको कार्य सम्पादन गर्नका लागि सरोकारवालाहरुसंगको परामर्शमा नगरले शिक्षा ऐन, नियमावली र निर्देशिका बनाउनु पर्नेमा नगरका शिक्षासंग मुख्य सरोकार राख्ने पक्षलाई जानकारी नै नदिई एकलौटी ढंगबाट शिक्षा ऐन र नियमावली लाद्न खोजेको अधिकारीले आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै कविशिरोमणी माविका ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी पौडेलले शिक्षकका समस्याहरुलाइ बेवास्ता गर्दै अघि बढे दुर्घट्नामा पर्ने खतरा रहेको भन्दै शिक्षकका पेशागत नेतृत्व र बिद्यालयको ब्यवस्थापन समालिरहनु हुने अभिभावक बर्गलाइ साथमा लिएर अघि बड्न मेचीनगर नगरपालिकालाई सुझाव दिनु भयो ।
धुलाबारी मा बि का प्रधानाध्यापक महेन्द्र बिलास लुइटेलले स्थानीय तहले बिद्यालयलाई बिश्वास नगरेकोले भौतिक निर्माण लगायतका काममा साझा अवधारणा बनाउन नसकिएको गुनासो गर्नु भयो । नमुना बिद्यालय कार्यक्रम लगायत अन्य शसर्त अनुदानका रकमहरु बिद्यालयको खातामा जम्मा गर्नु पर्ने कानूनी ब्यवस्था भए पनि त्यसो नगरी मेचीनगर नगरपालिका आफैले निर्माण अघि बढाउदा बिद्यालय कसरी त्यस प्रती जिम्मेवार बन्न सक्छ भनी नगरपालिकालाई प्रश्न गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक सङठन मेचीनगरका निवर्तमान अध्यक्ष लम्बोदर पौडेलले नगरपालिकाद्वारा जारी गरेको शिक्षा नियमावली अबिलम्ब खारेज गर्नु पर्ने धारणा राख्नु भयो । पौडेलले नेपाल राष्ट्रिय शिक्षक सङठन मेचीनगरबाट शिक्षा समिती लगायतमा प्रतिनिधित्व नहुने कुराको जानकारी समेत गराउनु भयो । त्यस्तै नेपाल शिक्षक संघ मेचिनगरका अध्यक्ष होमराज ढकालले शिक्षा बजेट अत्यन्तै न्यून भएको र नगरपालिकाले पटक पटक मिठा आश्वासन मात्रै बाड्ने गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङठन मेचीनगरका उपाध्यक्ष अम्बिका खवास, नेपाल शिक्षक महासङका संघीय प्रतिनिधि तुलसा खरेल, नेपाल बिद्यालय कर्मचारी परिषद मेचिनगरका अध्यक्ष हरि कट्टेल, बाल बिकास आधारभुत बिद्यालयका नगेन्द्र रिजाल, अभिभावकका तर्फबाट महानन्द प्रा बि का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र आचार्य लगायतले नगरले शिक्षा क्षेत्रको विकास र प्रबद्र्धनमा पूर्ण क्षमतामा कार्य गर्न नसकेको बताउनु भएको थियो ।
छलफलमा आएका सुझावहरु समेटेर केही दिनमा नै नगरपालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय समेत भेलाले गरेको शिक्षक महासंघ मेचीनगरका अध्यक्ष पौडेलले बताउनु भयो । शिक्षक महासङ मेचीनगरका सचिब अग्नि घिमिरेको सन्चालनमा सम्पन्न कार्यक्रममा सह अर्थ सचिब सिताराम रिमाल र सह सचिब दिपक खनालले सुझाब सकंलन गर्नु भएको थियो ।