शिवसताक्षी, चैत १ । झापाको झिलिझलेमा सञ्चालनमा आएको जीपलाइन र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्टले पहिलो वर्ष एक लाख पर्यटकलाई स्विमिङ गराउने घोषणा गरेको छ ।
शिवसताक्षी–८ झिलझिलेमा २ बिगाहा ५ कठ्ठा जग्गामा स्थानीय राजकुमार संग्रौलाले ४२ करोड रुपैयाँको निजी लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रा लि स्थापना गर्नु भएको छ । शनिबार पत्रकार सम्मेलन गरी सञ्चालकहरुले यो रिसार्ट १ नं प्रदेशकै पहिलो जीपलाइन र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट भएको बताए । प्रवेश शुल्क एक सय रुपैयाँ तोकेको रिसोर्टले वाटरपार्कका सबै आइटमको आनन्द लिनका लागि ६०० रुपैयाँ शुल्क तोकेको छ ।
पर्यटकले जीप फ्लाइङ र जीप साइक्लिङका लागि अलग्गै ५०० रुपैयाँका दरले तिर्नुपर्ने छ । रिसोर्टभित्र पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेलहरु रहनका छन । ४५ मिटर लामो कृत्रिम सुरुङ र समुन्द्री छालको जस्तो वेभ पुलले पर्यटकको मन तरङ्गित गर्नेछ । स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर लगायतका अनेकौं मनोरञ्जनात्मक सुविधाले भरिपूर्ण रिसोर्ट प्रदेशकै नमुना पर्यटकीयस्थल बनाइने सञ्चालक समितिकी अध्यक्ष मेनुकादेवी सिटौलाले बताउनु भयो ।
शिवसताक्षी नगरपालिका वडा नं ८ का अध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्य र सञ्चालक समितिकी अध्यक्ष सिटौलाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार, व्यवसायी, सामाजिक अगुवालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । झिलझिलेस्थित राजमार्गबाट ३०० मिटर दक्षिणमा रहेको यो रिसोर्ट सताक्षीधाम, चिल्लागढ, दोमुखा जस्ता प्रख्यात पर्यटकीय स्थलको नजिक रहेको हुँदा त्यहाँ आउने पर्यटकलाई समेत खान, बस्न र डुलफिर गर्न सुविधा पुग्ने सञ्चालक समितिका सदस्य यामनाथ काफ्ले बताउनु भयो ।
तारमा रोमाञ्चक यात्रा हुने जीप फ्लाइङ र साइक्लिङलाई नयाँ तथा साहसिक खेल मानिन्छ । यसले आन्तरिक पर्यटकलाई निकै आकर्षित गर्ने सम्भावना छ । स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर लगायतका अनेकौं मनोरञ्जनात्मक सुविधा रिसोर्टले प्रादन गर्ने भएको छ । वाटरपार्क डुल्न अब भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको सिटौलाले बताउनु भयो ।
रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधाहरुसँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । परिवार र साथीसँग डुलफिरका लागि वाटर किङ्डम रिसोर्ट उपयुक्त स्थान भएको वहाँले बताउनु भयो । शिवसताक्षी नगरपालिका वडा नं ८ का अध्यक्ष बस्नेतले आफ्नो क्षेत्रमा खुलेको रिसोर्टलाई नगरकै गौरवको परियोजना ठान्दै त्यसलाई सफल बनाउन सहयोग गरिने बताउनु भयो ।
रिसोर्ट सञ्चालक समितिका सदस्य गणेश घिमिरेले वार्षिक एक लाख जनालाई पौडी खेल्न रिसोर्टभित्र प्रवेश गराइने लक्ष्य रहेको बताउनु भयो । वहाँले निश्चित शुल्क तोकेर दुई हजार जनालाई यस वर्ष स्विमिङ पुलको ग्राहक बनाउने समेत जानकारी जानकारी दिनु भयो ।