काठमाडौं । बेपत्ता भएको ४० वर्षपछि एक नेपाली भारतमा भेटिएका छन् । सन् १९७९ को फेब्रुअरीमा इलामको एकातपा गाउँका युवक दीपक जोशी तिमल्सिना घरबाट निस्केका थिए । त्यसपछि उनी फर्केर घर गएनन् ।
उनी बेपत्ता भएको ४० वर्षपछि उनको परिवारका सदस्यले गत महिना कोलकाताको दमदम केन्द्रीय कारागारमा उनलाई भेट्न पाए ।
उनका भाइ प्रकाश चन्द्र तिमल्सिनाले कोलकाता पुगेर उनीसँग भेट गरेका छन् । घरबाट निस्कने बेलामा उनी दाल बेच्न भनेर निस्केका थिए । त्यतिबेला उनी गाउँमै सानोतिनो काम गर्ने गर्थे ।
उनी ज्योतिषशास्त्रमा रुची राख्थे । प्रकाशले नेपालबाटै टेलिफोनमा भएको कुराकानीमा भने, ‘हामीले त दाइ मरिसकेको ठानेका थियौं । नेपालका हर क्षेत्रमा खोज्यौं । तर कुनै पनि पत्तो लगाउन सकेनौं ।’
उनले भने, ‘त्यसबेला दार्जिलिङमा गोरखाल्याण्डको आन्दोलन चलिरहेको थियो । हामीले सोच्यौं कि त्यही आन्दोलनमा परेर दाइको मृत्यु भयो । यति धेरै वर्षपछि दाइका बारेमा खबर पाइएला भनेर सोचेका पनि थिएनौं ।’
उता दीपक लगभग ४० वर्ष पश्चिम बंगालका विभिन्न जोलमा विचाराधीन कैदीका रुपमा रहे । चार दशकसम्म पनि उनीविरुद्धको सुनुवाई पूरा हुन सकेन ।
बुधबार उनको मुद्दामा कोलकाता उच्च अदालतका मुख्यन्यायाधीशको डिभिजन बेन्चले सुनुवाई गरेको छ । दीपकको मुद्दाको अर्को सुनुवाई सोमबार १५ मार्चमा हुनेछ ।
अदालतले दीपक रिहा भएपछि नेपाल फर्किन पाउँछन् कि पाउँदैनन् भन्ने तय गर्नेछ । ४० वर्षसम्म उनी यताउता भड्किए । पछिल्लो साल फेब्रुअरीमा नन्दीग्रामबाट राधेश्याम दास स्थानान्तरित भएर दमदम केन्द्रीय कारागारमा आए । उनलाई माओवादी संगठनमा जोडिएको आरोपमा १० वर्ष पहिले गिरफ्तार गरिएको थियो ।
उनी २०१६ मा पनि केही दिन दमदम जेलमा रहेका थिए । राधेश्याम दासले भने, ‘पछिल्लो वर्ष फेब्रुअरीमा जब मलाई दमदम ल्याइयो तब पहिलेदेखि नै चिनजान भएका दीपकजीसँग फेरि भेटघाट भयो । जेलमा जो मानिस मानसिक रुपले अस्थिर हुन्छन् उनीहरुसँग म स्वेच्छाले परिचय गर्छु । त्यही तरिकाले दीपकजीसँग मेरो परिचय भएको थियो । कुराकुरामै पत्ता लाग्यो उहाँ ४० वर्षदेखि जेलमा हुनुहुन्छ । तर उहाँको मामिलामा कुनै सुनुवाई भएको छैन ।’
जेलबाट जमानतमा छुटेपछि दासले पश्चिम बंगाल एमच्योर रेडियो क्लबबाट सम्पर्क गरे । यो हैम रेडियो अपरेटरहरुको एक संगठन हो ।
रेडियो क्लबका सचिव अम्बरिस नाग विश्वासले भने, ‘राधेश्याम दासबाट जब सुनेँ कि एक व्यक्ति बिना सुनुवाई ४० वर्षदेखि जेलमा छन् तब म हैरान भएँ । मैले जेल कार्यालयमा सम्पर्क गरेँ । उनीहरुले पनि पहिले विश्वास गर्न खोजेनन् । तर पछि जाँच पड्तालपछि दीपक जोशी नामका कैदी सन् १९८१ देखि जेलमा छन् । र उनको बारेमा अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।’
अम्बरिस नाग विश्वास र उनका क्लबका केही मानिसहरुले दीपकसँग भेट्ने अनुमति मागे । तर परिवारका सदस्य नभएका कारण केबल हिरक सिन्हालाई मात्रै उनीसँग भेट्ने अनुमति मिल्यो । उनी कोलकाता उच्च अदालतका वकिल हुन् ।
हिरक सिन्हाले भने, ‘मलाई पहिले आशंका थियो कि दीपक जोशी कतै मानसिक रुपले अस्वस्थ्य त छैनन् । किनकि हामीले विभिन्न अदालतबाट जति पनि कागजातहरु जम्मा गरेका थियौं तिनीहरुमा त्यस्तै संकेत दिइएको थियो । तर उनीसँग कुराकानी गर्दा मलाई कहिल्यै लागेन कि उनी मानसिक रुपले अस्वस्थ्य छन् । तर उनी निश्चित रुपले गहिरो पीडामा थिए । मलाई नेपाली भाषा राम्रोसँग आउँदैन । तर थोरै धेरै बुझ्छु । त्यसबाटै उनीसँग कुराकानी गर्दथेँ । कुराकानीका बीचमा उनले कागज कलम मालगेर केही शब्द लेखेका थिए । देवनागरीमा लेखिएका ती शब्द आधा अपुरो लागे पनि खासमा त्यो उनको परिचय थियो । एक गाउँको नाम, बाबुआमाको नाम र स्कुलको नाम ।’
दीपकसँग सम्बन्धित कागजपत्रबाट पत्ता लाग्यो कि उनलाई सन् १९८१ मा दार्जिलिङबाट हत्याको मामलामा गिरफ्तार गरिएको थियो ।
हाम्राकुरा डटकमबाट साभार ।