बिर्तामोड, फागुन २६ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले असंवैधानिक कदम चालेर संविधानलाई ध्वस्त पार्न खोज्ने केपी ओलीसंगको सहकार्यमा काँग्रेस सरकारमा जाने कुरा सोच्न पनि नसकिने बताउनु भयो । ‘जसले संविधान नै भंग गर्न खोज्यो उसैको नेतृत्वमा काँग्रेस सरकारमा जाने कुरा सोच्न सकिदैंन ।’ कोइरालाले भन्नुभयो, ‘ओलीले अब बिश्वासको मत लिनै पर्ने बाध्यकारी अवस्था छ ।’
काँग्रेस नेता कोईरालाले अहिलेकै अवस्थामा संसद चल्न नसक्ने भएकाले देशलाई निकास दिन पनि निर्वाचनमा जानु पर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले बहुमत भनिएको पार्टी नेकपा पुरानै अवस्थाका एमाले र माओबादीमा फर्किए पछि अब संसद सहज रुपमा चल्न नसक्ने बताउनु भयो । वहाँले भन्नुभयो, ‘अब संसद चल्नै अप्ठ्यारो छ, देशलाई अनिर्णयको बन्दी बनाउनु भन्दा मध्यावधि निर्वाचनमार्फत निकास दिनुको बिकल्प छैन ।’
महाधिवेशनमा काँग्रेस सभापतिको उम्मेद्वारका रुपमा आफुलाई उभ्याउनु भएका नेता कोइरालाले आफ्नो पुरै टिम निर्माण भएको र कृष्णप्रसाद सिटौलासंग छुट्टै कुरा हुने पनि बताउनु भयो । केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गुरुराज घिमिरे र सरिता प्रसाईसंगै पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका कोइरालाले आफ्नो टिममा वहाँहरु सबै पर्ने र सिटौला पनि आफुसंगै रहेको बताउनु भयो । ‘सिटौला जी नेता हो त्यसैले वहाँसंग छुट्टै छलफल हुन्छ ।’ कोइरालाले भन्नुभयो, ‘अब काँग्रेस पर्ख र हेरको अवस्थामा बस्न सक्दैन, काँग्रेसले देशलाई निकास दिन केही निर्णय लिनु पर्छ ।’
बिगतमा पन िकाँग्रेसको नेतृत्वको सरकारले निष्पक्ष निर्वाचन गराएको भन्दै कोइरालाले अबको निर्वाचन गराउन काँग्रेस नेतृत्वमा सरकार बनाउनु पर्ने समेत बताउनु भयो । कोइरालाले २०७८ चैत भित्र प्रतिनिधि सभाको निर्वाचन गरेर देशलाई निकास दिनु पर्ने समेत बताउनु भयो । वहाँले भन्नुभयो, ‘आउने बर्षको चैत भित्र त निर्वाचन गराउनै पर्छ त्यो भन्दा छिटो गराउँदा मंसीरमा पनि निर्वाचन गराउन सकिन्छ ।’
पत्रकार भेटघाटमा बोल्दै काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संविधानको मस्यौदा गर्ने र संविधान भत्काउने दुवै झापाली रहेको भन्दै सिटौला र ओलीको जिल्ला झापा राजनितिक रुपमा निक्कै शक्तिशाली रहेको बताउनु भयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र सरिता प्रसाई सहित काँग्रेस झापाका सभापति उद्धब थापाको पनि उपस्थिति रहेको थियो । प्रेस युनियन झापाका सभापति इन्दु पुर्वेलीको सभापतित्वमा भएको कार्यक्रममा युनियनका पुर्व केन्द्रीय सदस्य कृष्ण हुमागाइले स्वागत मन्तब्य राख्नु भएको थियो भने युनियनका सल्लाहाकार राजेन्द्र गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।