मेचीनगर, फागुन २५ ।
नेपालमा वर्डफ्लुको जोखिमको मुख्य कारण भारतिय कुखुरा र कुखुराजन्य सामाग्रीको लुकिछिपि आयात नै रहेको पंक्षीरोग बिषेशज्ञ चिकित्सक डा दिपक सुवेदीले बताउनु भएको छ ।
पंक्षी तथा पंक्षीजन्य पदार्थ भारतबाट आयात गर्न नेपाल सरकारले प्रतिबन्ध गरेको भए पनि खुला सिमानाका कारण लुकाइछिपाई भारतिय बजारबाट नेपालमा आयात हुने पंक्षी तथा पंक्षीजन्य सामाग्रीका कारण नै नेपालमा पटक पटक वर्डफ्लु रोग देखा पर्ने गरेको डा सुवेदीले बताउनु भयो ।
लगानी र नियमितता हुने हो भने पोल्ट्री ब्यवशायले निक्कै राम्रो आम्दानी दिने डा सुवेदीले बताउनु भयो । वहाँले भन्नुभयो, ‘पोल्ट्रीमा दिगो रुपमा लाग्ने सबैले राम्रो कमाइ गर्न सक्नुहुन्छ तर दुई चार महिना गरेर फेरी यो क्षेत्रबाट हराउने र अलिकति उतारचढाव हुँदा आत्तिनेले यसबाट फाइदा लिन सक्दैनन ।’
सेतोपत्रसंग कुरागर्दै डा सुवेदीले नेपालमा कुखुरा पालन ब्यवशायलाई किसान मुखी बनाउन भारतबाट हुने अबैध आयातलाई निरुत्साहित गर्नु पर्ने बताउनु भयो । ‘नेपालमा पोल्ट्री ब्यवशायको अथाहा सभ्भावना छ ।’ वहाँले भन्नुभयो, ‘त्यसका लागि राज्यले पनि सहि निति लिनु पर्छ र किसान तथा ब्यवशायीहरुले पनि आफ्नै देशको उत्पादनलाई महत्व दिनु पर्छ ।’
डा सुवेदीका अनुसार कुखुराको मासु तथा अण्डामा नेपाल आत्मनिर्भर भएकाले सबै नेपालीले नेपालमा उत्पादन भएको कुखुराको मासु र अण्डा नै प्रयोग गर्ने बानीको बिकास गराउनु पर्नेछ ।
प्रविधिका हिसाबले पनि नेपाल बिश्वका अन्य मुलुक सरह नै भएको डा सुवेदीले बताउनु भयो । वहाँले भन्नुभयो, ‘नेपालमा विश्वस्तरीय प्रविधि भित्रिएको छ । त्यो प्रविधिले नेपाली किसानलाई रोग र अन्य समस्याबाट बचाउन मद्दत गर्ने भएकाले पनि भारतबाट अबैध आयात गर्नु हुँदैन ।’
वर्डफ्लु रोग कुखुराबाट मान्छेमा समेत सर्ने भएकाले अलि गभ्भिर रुपमा हेरिने भएकाले त्यसमा सरकार पनि गभ्भिर बन्नु पर्ने र अबैध आयातलाई नियन्त्रण गर्नु पर्ने डा सुवेदीले बताउनु भयो ।
पोल्ट्री विज्ञका रुपमा ७ बर्ष मलेशियामा समेत काम गरेर नेपाल फर्किनु भएका डा सुवेदी नेपालमा पोल्ट्री क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने चिकित्सकको रुपमा चिनिनु हुन्छ ।