मेचीनगर, भदौ १७ ।
मेचीनगर नगरपालिकाले शिक्षा तथा ब्यवशायिक तालीम परिषद (सिटिइभिटी) को अनुमति लिएर सञ्चालन गर्न लागेको मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटको सञ्चालक समितिमा बस्नका लागि धुलाबारी क्याम्पसको करोडौंको सम्पत्ती दुरुपयोग गर्न लागिएको खुलासा भएको छ ।
आम जनसमुदायबाट चन्दा संकलन गरेर धुलाबारी क्याम्पसका लागि जोडेको ७ बिगाहा जग्गामध्ये धुलाबारी क्याम्पससंग सम्बन्धीत केही ब्यक्तिहरुले पोलिटेक्नीक इन्स्टिच्यूटको सञ्चालक समितिमा आफु सदस्य बस्नका लागि ५ बिगाहा जग्गा निशुल्क मेचीनगर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरपालिकालाई जग्गाको स्वामित्व हस्तान्तरणका लागि धुलाबारी क्याम्पस सञ्चालक समितिले निर्णय समेत गरिसकेको खुल्न आएको छ ।
नगरपालिकाले सञ्चालन गर्ने मेचीनगर पोलिटेक्नीकको सञ्चालनका लागि नगरप्रमुखको नेतृत्वमा ९ सदस्य सञ्चाकल समिति गठन हुनेछ । उक्त समितिमा ६ जना नगरपालिका भित्रबाट र ३ जना शिक्षा सेवीहरुबाट सदस्य रहनेछ । शिक्षा सेवीको कोटाबाट धुलाबारी क्याम्पसका सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख लगायतलाई समावेश गर्न नगरपालिका र धुलाबारी क्याम्पस बिच सहमति भएको नगरपालिकास्रोतले जनाएको छ ।
समितिमा सदस्य बनाए बापत धुलाबारी क्याम्पसको ५ बिगाहा जग्गा नगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने र भवन समेत नगरपालिकाले प्राविधिक क्याम्पसको भवन निर्माण नगरेसम्मका लागि निशुल्क प्रयोग गर्न दिने सहमति भएको स्रोतले बताएको छ ।
नगरपालिकाले नै लगानी र ब्यवस्थापन गर्ने प्राविधिक क्याम्पस सञ्चालनका लागि जग्गा सहित धुलाबारी क्याम्पसको भवन समेत निशुल्क नगरपालिकालाई उपलब्ध गराउने निर्णय भएको हो ।
मेचीनगरबाट मात्रै बार्षिक रुपमा ५ सय बढी बिद्यार्थीहरु स्नातक तह पढ्न तयार हुने तथ्याङ्कले देखाउँछ । धुलाबारी क्षेत्रमा नै धुलाबारी मावि र कविशिरोमणी माविबाट मात्रै पनि प्रत्येक बर्ष करीब तीन सय बिद्यार्थी स्नातक तह अध्ययन गर्न तयार हुन्छन । तर बिद्यार्थीहरुको आर्कषणका लागि कुनै मेहनत नगर्ने धुलाबारी क्याम्पस नेतृत्व भने नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने प्राविधिक क्याम्पसको सञ्चालक सदस्य हुन जनसमुदायको चन्दाबाट जोडेको धुलाबारी क्याम्पसको सम्पत्ती दुरुपयोग गर्न लागेको देखिन्छ ।
यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने गरी डिप्लोमा इन आर्किटेक इन्जिनियर र डिप्लोमा इन आइ टी इन्जिनियरका कक्षा सञ्चालनका लागि शिक्षा तथा ब्यवशायिक तालीम परिषद (सिटिइभिटी) ले मेचीनगर नगरपालिकालाई अनुमति दिएको मेचीनगरले जनाएको छ ।
त्रिभुवन बिश्वबिद्यालयको ब्यवस्थापन र शिक्षा संकायको स्नातक तहका कक्षाहरुको सम्बन्धन भएर पनि धुलाबारी क्याम्पसले केही बर्षदेखि नयाँ बिद्यार्थी भर्ना गर्न सकेको छैन ।
नगरका अन्य दुईवटा क्याम्पसहरु काकरभिट्टा क्याम्पस र चारआलीको त्रिदेव क्याम्पस धुलाबारी भन्दा पछि स्थापना भएर पनि बिद्यार्थीहरु भरिभराई हुँदा समेत पनि नगरकै जेठो क्याम्पसका रुपमा रहेको धुलाबारी क्याम्पस भने बिद्यार्थी बिहिन अवस्थामा छ ।