झापा, फागुन २३ ।
झापाको धुलाबारी मावि उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत भएको छ । झापाको बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार विभिन्न ब्यक्ति र संस्थालाई पुरस्कृत गरेको छ ।
शैक्षिक गतिविधि र गुणस्तरमा उत्कृष्ट ठहर गरी धुलाबारी माविलाई २०७७ सालको उत्कृष्ट बिद्यालयको रुपमा नगद ५१ हजार सहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो । सम्मान तथा पुरस्कार बितरण समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिहर बिरहीले बिद्यालयका सहायक प्रधानअध्यापक तेजप्रसाद चौंलागाईलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । त्यस्तै २०७६ को उत्कृष्ट बिद्यालयको पुरस्कार धाइजनको सरस्वती बाल कल्याण माविलाई प्रदान गरिएको थियो । दुवै बिद्यालयको पुरस्कार राशी ५१ / ५१ हजार रहेको थियो ।
पुरस्कार छनौट समितिका संयोजक नेपाल पत्रकार महासंघका पुर्व महासचिव चन्द्र भण्डारीले छनौट समितिको तर्फबाट उक्त पुरस्कारको घोषणा गुर्न भएको कार्यक्रममा पत्रकारहरु लक्ष्मी गौतम (पाँचथर) र एकराज गिरी (झापा) लाई २५ हजार नगद सहित भरत भुर्तेल स्मृति पत्रकारीता पुरस्कार २०७६ र २०७७ बाट पुरस्कृत गरिएको थियो । त्यस्तै जनता मावि बाहुनडाँगीका शिक्षक यादव ढकाल, भानु मावि बाहुनडाँगीकी शिक्षक मुनामाया राना मगर, गढीगाउँ मावि शान्तिनगरका शिक्षक नगेन्द्र ढकाल, मेची जनसाधारण मावि बाहुनडाँगीका शिक्षक चन्द्रशेखर गुरागाई समेत पुरस्कृत भएका छन । शिक्षकहरुलाई नगद जनही १० हजार सहित सम्मान पत्र सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा स्वर्गीय भरत भुर्तेलका लेख, रचनाहरुको संग्रह ‘चरितचर्चा’को प्रमुख अतिथि विरहीले लोकार्पण गरेका थिए ।
प्रतिष्ठानले ०७५ र ०७६ का लागि विषयगत उत्कृष्ट शिक्षक र विद्यालयलाई समेत पुरस्कृत गरेको छ । त्यसैगरी ०७५ र ०७६ सालको एसईई परीक्षामा उत्कृष्ट हुने १५ जना विद्यार्थीलाई समेत उक्त अवसरमा नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा खतिवडा परिवारका ज्येष्ठ सदस्य डिल्लीराम र पद्मा खतिवडालाई सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा ‘चरितचर्चा’ पुस्तकको बारेमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले चर्चा गरेका थिए । प्रतिष्ठानका संरक्षक शारदाप्रसाद शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य दिपेन्द्र पौडेलले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विरहीले पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानद्धारा शिक्षा तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुको खोजी गरी पुरस्कृत गर्ने संस्कार अनुकरणीय र सत्कर्म गर्न सबैलाई प्रेरित गर्ने कार्य भएको बताउनु भयो ।
प्रतिष्ठानका सचिव अग्रज पत्रकार शिरोमणि खतिवडा शिरोसान्दाइ हाल अस्वस्थ रहेकाले समारोहमा उनको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । २०७० सालमा स्थापित प्रतिष्ठानले विभिन्न कार्य गदै आएको छ ।
कार्यक्रममा झापासहित विभिन्न जिल्लाका प्रतिष्ठित व्यक्क्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।