बिर्तामोड, फागुन १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन दिने बताउनु भएको छ । बिर्तामोडमा सञ्चालनमा आएको पुर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडी बढीसकेको बताउँदै छिट्टै सम्बन्धन पाउने प्रष्ट पार्नु भयो । ओलीले भन्नुभयो, ‘बिएण्डसी मेडिकल कलेजलाई काठमाण्डौ युनिभर्सिटिले सम्बन्धन दिन्छ त्यसको प्रक्रिया अगाडी बढीसक्यो ।’
दक्षिण एसियाकै अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर अस्पतालको उदघाटन समारोहमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने मान्छेलाई अवरोध आउने तर त्यस्तो अवरोधलाई नै ब्राण्ड बनाउने ब्यक्ति दुर्गा प्रसाई मात्रै भएको बताउनु भएको थियो । वहाँले भन्नुभयो, ‘काम गर्दा अवरोध हुन्छ तर विभिन्न उपमालाई नै ब्राण्ड बनाउने मान्छे दुर्गा प्रसाई मात्रै हो ।’
‘अहिलेसम्म नेपालका मानिस क्यान्सरको उपचार गराउन भारत जान्थे तर अब भारतबाट क्यान्सरको उपचार गराउन बिर्तामोड आउँछन ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘पुर्वाञ्चल क्यान्सर अस्पताल भवनले मात्रै होईन उपकरण पनि अत्याधुनिक छ ।’
ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन त्यति सजिलो नभएको भन्दै चुनाव जहिले भए पनि दुई तिहाइ मत लिएर फेरी सिहंदरबार जाने पनि बताउनु भयो । ‘अहिले मलाई हटाउन खोज्दैछन तर त्यति सजिलो छैन ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘जहिले भए पनि चुनाव त हुन्छ नि त्यस पछि दुइतिहाइ मत लिएर फेरी सिंहदरबार प्रवेश गर्छु ।’
कार्यक्रममा दुर्गा प्रसाईले आफ्नो मेडिकल कलेजले कहिले सम्बन्ध पाउने ? देशको कानून मानेर लगानी गरेर ब्यवशाय गर्ने वातावरण किन नभएको जस्ता प्रश्न प्रधानमन्त्री सामु राख्नु भएको थियो । प्रसाईले नारायण काजीको कुरामा लागेकै कारण आज प्रचण्ड फरक बाटोमा रहेको बताउनु भएको थियो । वहाँले नारायण काजीको पुरा नाम उल्लेख नगरीकन भन्नुभयो, ‘काजीसाबहरुले जनआन्दोलन र जनयुद्ध दुवैमा सहभागि नभएकाले जनताभन्दा टाढा रहेका ब्यक्तिको कुरामा लागेर आज प्रचण्ड टाढीदैं जानु भएको छ ।’
प्रसाईले डा गोबिन्द केसीले आफ्नो मेडिकल कलेजको बिरोध गरेको प्रति असन्तुष्टी ब्यक्त गर्दै दुई चारबटा सिटामोल बाँडेर हिड्दैमा स्वास्थ्य क्षेत्रको सुधार नहुने बताउनु भयो ।
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, पर्यटन मन्त्री भानुभक्त ढकाल, प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, बागमती प्रदेशका प्रमुख बिष्णु प्रसाई, मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तब्य बिएण्डसी मेडिकल कलेजका प्रिन्सिपल डा उमेश शर्माल गर्नु भएको थियो ।