मेचीनगर, फागुन १७ ।
झापा मेचीनगर ९ मागुरमाडीकी २२ बर्षीया आशा लिम्बु बेपत्ता भएको घट्ना रहस्यमय बन्दै गएको छ । २०७७ फागुन ४ गते सरस्वती पुजाकै दिनदेखि बेपत्ता भएकी आशाका बारेमा १४ दिन बितिसक्दा समेत पनि कुनै जानकारी छैन ।
कविशिरोमणी माविको कक्षा ११ मा अध्ययनरत आशा शारिरीक रुपमा फरक क्षमताकी हुनुहुन्छ । वहाँको केही बर्षदेखि डिसोसिएटिभ डिसअर्डर (Dissociative Disorder) रोगको उपचार चलिरहेको आशाका दाजु मिलन लिम्बुले जानकारी दिनु भयो । ‘उसलाई हिड्न पनि केही अप्ठ्यारो हुन्छ, आशाका दाजु मिलनले सेतोपत्रसंग कुरागर्दै भन्नुभयो,‘सानैदेखि बिरामी नै थियो, बेला बेला मुर्छा पर्ने पनि हुन्छ, बोली पनि केही असजिलो छ ।’
‘सरस्वती पुजाको दिन बिहानै बिद्यालय पुगेर पुजा गरेर फर्किएकी थिइ ।’ गहभरी आँशु पार्दै आशाकी आमा दुपर्दा लिम्बुले भन्नुभयो,‘खाना खाएर बिहान ११ बजे तिर फेरी दिउँसोको कार्यक्रम हेर्न भनेर बिद्यालय नै गएकी थिइ तर बेलुकासम्म पनि घर नफर्केपछि हामीले खोजी गर्यौं तर आजसम्म पनि केही खबर पाएका छैनौं ।’
भोलि पल्टै आशा हराएको भनेर इलाका प्रहरी कार्यालय धुलाबारीलाई समेत जानकारी गराएको आशाका बुवा जसमान लिम्बुले बताउनु भयो । कतै नभेटिए पछि पुलिसलाई पनि भन्यौं, जसमानले भन्नुभयो,‘तर प्रहरीले पनि अहिलेसम्म केही पत्ता लगाको छैन ।’
घट्ना अनुसार फागुन ४ गते कविशिरोमणी माविमा सरस्वती पुजाको अवसर पारेर बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम गरिरहेका थिए । आशा पनि साथीहरुसंग बिद्यालयको कार्यक्रम हेरिरहनु भएको थियो । अपरान्ह तिर आशालाई एउटा फोन आयो र आशा धुलाबारी मोडसम्म जानुछ भनेर हिड्न लाग्दा साथीहरुले अटोरिक्सासम्म आशालाई पुर्याइ दिए । शारिरीक रुपमा अशक्त भएकाले साथीहरुकै सहयोगमा आशा बिद्यालयबाट बाहिर निस्केर अटोमा चड्नुभयो र भन्नुभयो, ‘साथी भेट्न धुलाबारी मोड गएको ।’
झट्ट हेर्दा सामान्य जस्तो देखिने आशाको घरमा बुवा आमा, दाजु भाउजु र एक जना बहिनी छन । ‘मेरो छोरी गाडी देख्दा पनि डराउँछ तर कसरी एक्लै हिड्यो ?’ आशाकी आमा दुपर्दाले भन्नुभयो, ‘राम्ररी हिड्न पनि सक्दैन, अहिलेसम्म कोहीसंग कतै हिडेको पनि छैन तर एक्कासी हराए पछि चिन्ता लागेको छ ।’ वहाँले भन्नुभयो, ‘उसले नयाँ लुगा पनि लगाको छैन, मोबाइलको चार्जर पनि घरमै छ । पुरानो जुत्ता लगाको छ र एक तोलाको सुनको सिक्रि पनि लगाको छ ।’
‘हिड्ने तयारी भए त घरमा भएको राम्रो लुगा लगाउनु पर्ने, जुत्ता पनि नयाँ लगाएर हिड्नु पर्ने तर त्यो सबै घरमै छ ।’ आशाकी आमाले सुनाउनु भयो,‘सोझी छे, कसैले फकाएर कतै लग्यो कि ?’ आशाका दाजु मिलनका अनुसार हराएको दिन बेलुका आशाले बोकेको मोबाइल नम्बरमा फोन गर्दा फोन लाग्यो तर उठेन । त्यस पछि भोलि पल्ट बिहान ६ बजेतिर फोन गर्दा पनि फोन लाग्यो तर उठेन । त्यस पछि भने आशाले प्रयोग गर्ने मोबाइल नम्बरमा फोन गर्दा स्वीच अफ देखाउँछ, मिलनले भन्नुभयो, ‘धेरै पटक फोन गर्यौं शुरुमा लागेर पनि उठेन र अहिले चैं फोन स्वीच अफ भनिरहेको छ ।’
आशा हराएको जानकारी आए देखि नै खोजी कार्यलाई तिब्र बनाएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । हामीले आशाको खोजी जारी राखेका छौं, धुलाबारीका प्रहरी निरीक्षक विकास राईले सेतोपत्रसंग कुरा गर्दै भन्नुभयो, ‘आशाले बोकेको मोबाइल नम्बरको अवस्था हेर्दा एक पटक सर्लाही जिल्लामा खुलेकोसम्म भेटिएको छ । विभिन्न ढंगबाट खोजी कार्यलाई निरन्तरता दिएका छौं ।’ आशाको खोजीका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि परिवारले आग्रह समेत गरेको छ ।