इटाभट्टा, भदौ १७ ।
हिजो नेपालमा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२०८८ वटा पिसीआर परीक्षणमा १०६९ जनामा कोरोना भेटिएको हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ४०५२९ पुगेको छ ।
यसैबिच नेपालमा हिजो देशभर पछिल्लो २४ घण्टामा ७६८ निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २२ हजार १७८ पुगेको छ । जुन कुल संक्रमितको ५५ प्रतिशत रहेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १८ हजार ११२ जना रहँदा संस्थागत आइसोलेशनमा १० हजार ८३२ रहेको छ भने होम आइसोलेशनमा रहनेको संख्या ७ हजार २८० रहेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९० रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका संक्रमित मध्ये १२७ जना आइसियूमा रहेर उपचार गराई रहेको छन् भने भेन्टिलेटरमा रहेर उपचार गराउने बिरामीहरुको संख्या १७ रहेको छ ।
यसैबिच हिजो झापाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड सम्पर्क ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको दमक नगरपालिका वडा नं २, ३, ५, ६ र ९ का ३ महिला र ६ पुरुष, बाह्रदशी गाउँपालिका वडा नं १, ५ र ७ का १ महिला र ३ पुरुष तथा गौरीगञ्ज गाउँपालिका वडा नं १ का १ पुरुष रहनु भएको छ ।
झापामा हिजो पुष्टी भएका सबै संक्रमितहरु स्थानीय रहँदा बाह्रदशीका पुराना कोरोना संक्रमितहरुमा पुनः कोरोना संक्रमण देखिएको सम्पर्क ब्यक्ति चौलागाईले बताउनु भएको छ ।
त्यस्तै हिजो प्रदेश नं १ मा झापाका १४ सहित मोरङ १२, सुनसरी ५६, पाँचथर १, उदयपुर १, ओखलढुंगा १, खोटाङ २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
थप ११ जनाले ज्यान गुमाए
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको ज्यान गएको छ । १ बालिका र १० पुरुष सहित ११ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।योसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २३९ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।