बिर्तामोड, फागुन १६ ।
आगामी तीन वर्षे कार्यकालका लागि विर्तामोडस्थित अग्रसेन भवनमा मतदान भइरहेको छ । आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष महिला, महासचिव, उद्योग सचिव, वाणिज्य सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष महिलाका लागि एक र एकजना, सदस्य खुल्लाका लागि सातजना, सदस्य महिला दुई गरी १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भैरहेको हो ।
मतपत्र लिर्दै मतदाता ।
प्रतिस्पर्धीको उम्मेदवारी रद्द भएर जनसम्पर्क महिला उपाध्यक्ष पदमा एकमात्र उम्मेदवार नैनकला भट्टराईलाई निर्विरोध भएको घोषणा निर्वाचन समितिले गरिसकेको छ । पूर्वअध्यक्ष ११ जनासहित कूल ४ हजार ५५० जना मतदाता रहेका छन्। ५०० मतदाताका लागि एउटा लाइन गरी कूल ९ वटा लाइनको व्यवस्था गरिएको छ । एक मुख्य निर्वाचन अधिकृत, १६ निर्वाचन अधिकृत र सहयोगिहरु सहित कुल ४२ जनाको निर्वाचन टीम तथा आवश्यक संख्यामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । दुईजना सूचना प्राविधिक खटिएका छन्। मतदान र गणनालाई प्रविधिमैत्री बनाइएको छ । मतदानस्थल बाहिर मतदाताको लाइन र मतपेटिका पूर्णरुपमा सिसी क्यामेराको निगरानीमा रहेको मुख्य निर्वाचन अधिकृत शेखर ढकालले बताउनु भयो । ढकालका अनुसार मतदाताको बिवरण हेर्न प्रत्येक लाइनमा एउटा कम्युटर र त्यसको सञ्चालनका लागि प्राविधिक सहितको ब्यवस्थापन गरिएको छ ।
निर्वाचन समिति र संघका पुर्व अध्यक्षहरु निर्वाचनको अवलोकन गर्दै ।
मतगणना आज रातिदेखि हुने भएकाले गणनास्थलमा समेत सिसि क्यामेराको ब्यवस्था गरिएको निर्वाचन सदस्य केशब भट्टराईले सेतोपत्रलाई बताउनु भयो । मतगणनास्थलको गतिविधि हल बाहिर सबैले देख्नसक्ने गरी प्रोजेक्टरमार्फत डिस्प्ले गरिने भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार मतदानलाई छिटोछरितो बनाउन मतदानका लागि लामबद्ध मतदाताको नाम कम्प्युटरबाटै रुजु हुने व्यवस्था मिलाइएको छ ।
संघका अध्यक्ष कुमार भट्टराई सहितका ब्यक्तित्वहरु मतदान प्रक्रियाको निरिक्षण गर्दै ।
नेपाली कांग्रेस र नेकपाले आफ्नो राजनितिक प्रतिष्ठाको बिषय बनाएकोले पनि ब्यवशायीहरुको चुनाव भए पनि दलका नेताहरु नै खुलेर चुनावी प्रचारमा लागेका छन । बिभाजनको अवस्था भए पनि नेकपाले बिर्तामोड वाणिज्य संघको चुनावमा एउटै उम्मेद्वार बनाउन सफल भएकाले पनि नेकपा सम्बद्ध ब्यवशायीहरु उत्साहका साथ चुनावी मैदानमा होमिएको देखिन्छ भने मतदाता संख्याका आधारमा बढी मतदाता भएको दाबी गर्ने कांग्रेस निकट ब्यवशायीहरु चुनाव जित्नेमा बिश्वस्त देखिन्छन । काँग्रेस निकट व्यवसायी प्रकाश शिवाकोटी र नेकपा निकट व्यवसायी सुवास भट्टराई अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन्। ।