इटाभट्टा, भदौ १७ ।।
मेचीनगर १० मा रहेको धुलाबारी क्याम्पसको भवनमा सञ्चालन हुन लागेको प्राविधिक क्याम्पस मेचीनगर नगरपालिका आफैंले सञ्चालन गर्ने नगरपालिकाले स्पष्ट पारेको छ ।
यसै शैक्षिक सत्रदेखि सञ्चालन गर्ने गरी शिक्षा तथा ब्यवशायिक तालीम परिषद (सिटिइभिटी) ले डिप्लोमा इन आर्किटेक इन्जिनियर र डिप्लोमा इन आइ टी इन्जिनियरका कक्षा सञ्चालनका लागि मेचीनगर नगरपालिकालाई अनुमति दिएको मेचीनगर नगरपालिकाका प्रमुख बिमल अचार्यले बताउनु भयो । नगरप्रमुख अचार्यका अनुसार प्राविधिक बिषयहरु सञ्चालनका लागि नगरपालिकासंग उपयुक्त भवन नभएका कारण तत्कालका लागि धुलाबारी क्याम्पसको भवन प्रयोग गर्न लागिएको हो ।
मेचीनगर पोलिटेक्नीक इन्स्टिच्यूट नामबाट सञ्चालन हुने उक्त प्राविधिक क्याम्पस नगरपालिकाले नै सञ्चालन गर्ने अलग्गै शैक्षिक संस्था हुने नगरप्रमुख आचार्यले स्पष्ट पार्नु भयो । सेतोपत्रसंग कुराकानी गर्दै नगरप्रमुख आचार्यले भन्नु भयो, ‘यो प्राविधिक क्याम्पस नगरपालिका आफैंले कार्यबिधि बनाएर सञ्चालन गर्ने हो, यसको लगानी र ब्यवस्थापन सबै नगरपालिकाले नै गर्ने र त्यस संस्थामा अध्यापन गर्न आउने अध्यापकहरुको ब्यवस्थापन समेत नगरपालिकाले नै गर्छ ।’
मेचीनगर पोलिटेक्नीक इन्स्टिच्यूट सञ्चालनका लागि नगरपालिकाले कार्यविधि मार्फत नगरप्रमुखको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन हुने र त्यसमा नगरका उपप्रमुख उपाध्यक्ष र नगरशिक्षा शाखा प्रमुख सदस्य सचीव रहने ब्यवस्था गरिने पनि नगरप्रमुख आचार्यले सेतोपत्रलाई बताउनु भयो ।
नगरप्रमुख आचार्यका अनुसार सम्बन्धीत वडा अध्यक्ष, सामाजिक बिकास समितिका संयोजक लगायत ६ जना सञ्चालक सदस्य नगरपालिका भित्रैबाट हुने र शिक्षा सेवीहरुबाट ३ जना समिति सदस्य रहने ब्यवस्था कार्यविधिमा गर्न लागिएको छ ।
प्राविधिक क्याम्पस सञ्चालनका लागि नगरपालिकाले यो बर्ष ४० देखि ५० लाख खर्च गर्ने योजना बनाएको नगरप्रमुख आचार्यले बताउनु भयो । तत्काल भवनका बनाउने अवस्था छैन त्यसैले अहिले धुलाबारी क्याम्पसको भवन प्रयोग गर्ने र क्याम्पस शुरु भइसकेपछि नगरपालिकाले प्राविधिक क्याम्पसका लागि छुट्टै भवन निर्माण गर्ने योजना बनाएको मेचीनगर उपप्रमुख मिना उप्रेतीले सेतोपत्रलाई बताउनु भयो ।
सिटिइभिटीको ऐन अनुसार प्राविधिक क्याम्पस सञ्चालनका लागि सरकारी स्वामित्व भएका शैक्षिक संस्थाहरुलाई मात्रै अनुमति दिने ब्यवस्था छ । मेचीनगर पोलिटेक्नीक इन्स्टिच्युटले धुलाबारी क्याम्पसलाई संस्थागत रुपमा नचिन्ने पनि नगरप्रमुख आचार्यले स्पष्ट पार्नु भयो ।
धुलाबारी क्याम्पसलाई जीवन्त राख्न प्राविधिक बिषयहरु सञ्चालन गरिन लागेको भनिएको भएको पनि उक्त बिषयहरु धुलाबारी क्याम्पसले सञ्चालन नै गर्न नपाउने कानूनी ब्यवस्था छ ।