धुलाबारी, फागुन १५ ।
प्रदेश १ मा नै पहिलो पटक आयोजना गरिएको ४० किलोमिटर साइकिल दौड प्रतियोगिताको उपाधी पाँचथरका निर्धल केरुङले जित्नु भएको छ ।
जेनियम युवा क्लब धुलाबारीले आज आयोजना गरेको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा १ घण्टा २८ मिनेटमा पुरा गरी प्रथम स्थान हासिल गर्नु भएको हो । वहाँले नगद ३५ हजारसहित ट्रफी र उपहार पाउनु भएको आयोजक समितिका उपाध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिनु भयो ।
ताप्लेजुङका आशिस गुरुङले दोस्रो स्थान हासिल गर्नु भएको छ । आशिसले १ घण्टा ३६ मिनेट र तेस्रो ताप्लेजुङकै प्रविण राईले १ घण्टा ३८ मिनेटमा उक्त यात्रा पुरा गर्नु भएको थियो । दोस्रो र तेस्रोले क्रमशः नगद ३० र २५ हजारसहित ट्रफी र उपहार पाउनु भएको छ ।
प्रतियोगितामा चौथो हुने सचिन रिमाललाई ३ हजार, पाँचौ हुने आकाश श्रेष्ठलाई २ हजार तथा छैटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्व वस्नेत, आठौँ हुने सुदिपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई (भूपु कान्छ) लाई जनही एक हजार नगदसहित ट्रफी र उपहारहरु प्रदान गरिएको क्लबका उपाध्यक्ष बानियाले बताउनु भयो ।
मेचीनगर १० स्थीत धुलाबारी बजारबाट बिहान १० बजे शुरु भएको साइकिल दौड प्रतियोगितामा सहभागि भएका करीब १०० जना सहभागिहरुले शान्तिनगर, बहुबन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर समापन भएको आयोजक संस्थाका अध्यक्ष धनराज थापाले बताउनु भयो ।
‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ’ भन्ने नाराका साथ सञ्चालन भएको साइकिल दौड प्रतियोगिताको उदघाटन मेचीनगर ९ र १० का वडा अध्यक्षद्वय गोपाल खड्का र सुवेशकुमार पनेरुले रिवन काटेर गर्नु भएको थियो । प्रतियोगिताको समापनमा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी सहितका अतिथिहरुले बिजेताहरुलाई पुरस्कार बितरण गर्नु भएको थियो ।