बिर्तामोड, फागुन १८ ।
दक्षीण एसियाकै अत्याधुनिक क्यान्सर अस्पतालका रुपमा बिर्तामोडमा स्थापना भएको पुर्वाञ्चल क्यान्सर अस्पतालको फागुन १८ गते मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु हुने भएको छ ।
क्यान्सर उपचारमा बिश्वस्तरिय प्रविधि भित्र्याएको पुर्वाञ्चल क्यान्सर अस्पतालले आज पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री ओलीले एक भब्य कार्यक्रमका बिच अस्पतालको उदघाटन गर्नु हुने जानकारी गराएको हो । अस्पतालका निर्देशक दुर्गा प्रसाईले अब जस्तोसुकै क्यान्सरको उपचार गर्न पनि पुर्वाञ्चल अस्पताल सक्षम रहेको पत्रकार सम्मेलनमा बताउनु भयो । वहाँका अनुसार क्यान्सरको उपचार गर्न अहिले विश्वस्तरिय अस्पतालले प्रयोग गरिरहेका उपकरण नै पुर्वाञ्चाल क्यान्सर अस्पतालमा जडान भएको छ । प्रसाईले भन्नुभयो,‘क्यान्सरको उपचार गर्न भारत जाने धेरै छन तर अब भारतका अस्पतालको भन्दा अत्याधुनिक प्रविधि बिर्तामोडमा नै जडान भएको छ । अब क्यान्सरको उपचार गर्न बाहिर जानु पर्दैन ।’
पुर्वाञ्चल क्यान्सर अस्पतालको क्षमता ३०० बेडको भए पनि अहिले १०० बेडमा सञ्चालन भइरहेको प्रसाईले बताउनु भयो । वहाँका अनुसार अस्पताल सञ्चालनका लागि मात्रै करीब ६०० करोड लगानी भइसकेको छ । अहिले नेपालका अन्य क्यान्सर अस्पतालको तुलनामा पुर्वाञ्चल अस्पतालमा अत्याधिक बिरामीको चाप बढेको प्रसाईले बताउनु भयो ।
अस्पताल उदघाटनका अवसरमा प्रधानमन्त्री सहित संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग, गृह मन्त्री रामबहादुर थापा बादल, पर्यटन मन्त्री भानुभक्त ढकाल, शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, हाश्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, चलचित्रकर्मी मनिसा कोइराला र भारतिय अभिनेत्री सोनाली बेन्द्रे पनि सहभागि हुने अस्पतालका सुचना अधिकारी प्रमिश गिरीले बताउनु भयो ।
त्यस्तै अस्पताल उदघाटन समारोहमा काठमाण्डौमा बसेर स्वास्थ्य क्षेत्रमा कलम चलाइरहेको ३० भन्दा बढी सञ्चारकर्मीहरु समेत सहभागि हुने सुचना अधिकारी गिरीले जानकारी दिनु भयो ।