पोखरा, फागुन ११ ।
देशकै सबैभन्दा सुन्दर शहर भनेर चिनिएको पोखराको भविश्य पनि सुन्दर बनाउने उद्देश्यले महानगरका कर्मचारीहरुका नेतृत्वलाई बिषेश प्रकारको तालिम दिइएको छ । पोखरा महानगरपालिका शहरी योजना आयोगको आयोजनामा फागुन ६ देखी ८ गतेसम्म कास्की जिल्लाको रमणीय स्थान धम्पुसमा सम्पन्न तालिममा महानगरका शाखा तथा महाशाखा प्रमुखहरुको सहभागिता रहेको तालिमका सहजकर्ता एवम् परिकल्पनाकार पोखरा शहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले वताउनु भयो ।
आगामी दश बर्ष पछि पोखरालाई कस्तो बनाउने भन्ने बिषयमा केन्द्रित गरेर तीन दिवशीय प्रशंसनीय खोज दृष्टिकोणकोे तालिम दिइएको लामिछानेले बताउनु भयो । तालिमको समापन समारोहमा महानगर प्रमुख मानवहादुर जिसीले यस तालिमले सवै सहभागीहरुमा आफना र संस्थाका सवल पक्षहरु उजागर गरेर आफनो नीजि जीवन तथा महानगरपालिकाका काम कार्यवाहीहरु सकारात्मक रुपमा सम्पादन गरेर सेवाग्राहीको मनमा सकारात्मक छाप छोडने सिप र दक्षता विकास गर्ने विश्वास गर्नु भयो ।
पचास जना सहभागी रहेको यस तालिमको मुख्य उद्धेश्य सहभागीहरुमा सकारात्मक सोचको विकास गरी सेवा प्रवाहमा उच्च स्तरको जिम्मेवारी र जवाफदेहीताको बोध गर्ने प्रतिवद्धता वृद्धि गराउने रहेको तालिमका सहजकर्ता लामिछानेले वताउनु भयो ।
प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, महाशाखा तथा महानगरपालिका भित्र र वाहिर रहेका सवल पक्षहरुको खोजीनीति गर्ने, सफलताका कारणहरु खोज्ने ती सफलताका कारणहरुलाई आमुल रुपान्तरणका मुद्धाहरुसँग जोडेर नयाँ महानगरपालिकाको परिकल्पना गर्दै सो परिकल्पना साकार पार्न नयाँ संगठनात्मक सँरचनाको खाका तयार गरी कार्यान्वयनको लागि कार्ययोजना तयार गर्ने विधी हो । विगतका सफलता र भविष्यको चाहनाको आधारमा कार्ययोजना निर्माण गरीने भएकोले यस विधीलाई आमुल रुपान्तरणकारी विधी पनि भनिन्छ ।
तालिम कार्यक्रममा सहभागीहरुको सकृय सहभागिता रहेको थियो भने अधिकाँश सहभागीहरुको यस तालिममा प्रयोग गरीएका विधी तथा प्रकृयाहरु एकदम नयाँ र रोचक थिए । महिला विकास अधिकृत श्री विष्णुमाया पौडेलका अनुसार यो तालिम विगतका सवै तालिमभन्दा फरक थियो र यसले आफु भित्र पर्याप्त सकारात्मक उर्जा भरेको वताउनु भयो । महानगरका सुचना अधिकृत भरत पौडेल यस तालिमको अवधिलाई जीवनकै एक अविस्मरणीय क्षण वताउनु हुन्छ भने शिक्षा महाशाखा प्रमुख श्री हेम प्रसाद आचार्य तीन दिनको धम्पुस वसाइ पछि पर्याप्त उर्जा लिएर फर्किन लागेको र यस उर्जाले समग्र महानगरपालिकाको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने वताउनु हुन्छ ।
महानगरपालिकाको सवल पक्षहरु र नगरवासीहरुको भविष्यको चाहनाको आधारमा सहभागीहरु तीन समुहमा विभाजित भई आगामी १० वर्ष पछाडीको पोखरा महानगरपालिकाको परिकल्पना तयार गर्नु भयो । उक्त परिकल्पनाको आधारमा महानगरपालिकाको नयाँ वजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिने कुरामा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।