झापा, फागुन १० ।
‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।
‘झापा स्पोर्टस् अवार्ड’ चौथो संस्करणका लागि विभिन्न चार विधामा प्रत्येक विधामा ३/३ जना र दुई विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक एक जना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक सचितआनन्द सुब्बाले जानकारी दिनुभयो । वर्ष उत्कृष्ट खेलाडी पूरुषतर्फ अनन्त तामाङ, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ, वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ जुनी राई, देविका खड्का र कमला श्रेष्ठ रहेका छन् ।
त्यस्तै, वर्ष उत्कृष्ट खेलाडीमा रेजिन सुब्बा, मनिताश्रेष्ठ प्रधान , अनुजाकुलुङ राई र वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल, मदनउप्रेती , वोङदेन लामा रहेका छन् । वर्ष खेलाडी पुरुषलाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।
त्यस्तै, पिपुल्स च्वाइज अन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्ड स्वरुप एक जनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, यो वर्ष दुईजनालाई नगद २५ हजारसहित स्पेसल अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । ‘झापा स्पोर्टस् अवार्ड’ को चौथो संस्करण यही फागुन २८ गते हुनेछ ।