बिर्तामोड, फागुन १० ।
बिरता लेडी जेसीजको आयोजनामा एक दिवशीय माइन्यूट लेखन तालिम आज सम्पन्न भएको छ । बिर्तामोड क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सभागितामा सञ्चालन भएको तालिममा माइन्यूट (बैठकको निर्णय) लेखन तालिममा पत्रकार ज्ञानेन्द्र निरौलाले सहजीकरण गर्नु भएको थियो ।
कुनै पनि संस्थाको बैठक वा संघ संस्थाले आयोजना गरेका कार्यक्रमको निर्णय कसरी लेख्ने भन्ने बारेमा तालिममा बिषेश गरी प्रशिक्षण प्रदान गरिएको तालिमका सहभागि तथा राजबंशी महिला समाजका सचिव शर्मिला राजबंशीले बताउनु भयो । तालिमले बैठकको निर्णय लेख्ने तरिकाका बारेमा धेरै जानकारी पाएको तालिमका अर्का सहभागि बिरता लेडी जेसीजका सदस्य सेलिसा उप्रेतीले सुनाउनु भयो ।
बिरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको सभापतित्व तथा नेपाल जेसीजका उपाध्यक्ष रजनी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको उदघाट्न सत्रमा बोल्दै प्रमुख अतिथि थापाले यो बर्ष नेपाल जेसीजले तालिम बर्षका रुपमा मनाउने योजना बनाएको बताउनु भयो ।
कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष सुष्मा भण्डारी पौडेल, सुरुङ्गा जेसीजकी अध्यक्ष उसायदुका उप्रेती, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजका सदस्य, राजवंशी महिला समाज बिर्तामोड, छठ महिला मञ्च, सुन्दर आमा समूहका सदस्यसहित ६० जनाको सहभागिता रहेको तालिम कार्यक्रम संयोजक पूजा काफ्ले खरेलले आस्था वाचन, कार्यक्रम संयोजक अर्चना राउतले स्वागत र मेनुका ओलीले जेसीआई मिसन भिजन वाचन तथा महासचिव हिमा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।