बिर्तामोड, फागुन ९ ।। नेकपा नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढोँगी कम्युनिस्टको संज्ञा दिनु भएको छ । जेल बस्दैमा, सुखी र समृद्धिको नारा अलाप्दैमा कोही कम्युनिस्ट हुन नसक्ने वहाँको दाबी छ । आइतबार झापाको बिर्तामोडमा आयोजित गैरीशंकर खड्का (राजेन्द्र) स्मृति प्रतिष्ठानको दशौं वार्षिक साधारणसभा बोल्दै भुसालले केपी ओलीले माक्र्सवाद, लेनिनवाद भनेको आफूले अहिलेसम्म नसुनेको समेत बताउनु भयो ।
‘ओलीले तीन वर्ष सुखी र समृद्धिको दुई वाक्य जपेरै बिताए, कामका नाममा माखोसम्म मारेनन,वहाँले भन्नुभयो, ‘माक्र्सवाद र लेनिनवादसम्म भन्न नरुचाउने व्यक्ति जेल बसेकै भरमा कम्युनिस्ट हुन सक्दैन ।’ नेतृ भुसालले ओली कम्युनिस्ट आन्दोलनमा नभई अरु कुनै घटनामा जेल बसेको हुनसक्ने आशंका समेत व्यक्त ब्यक्त गर्नु भयो ।
केपी–विद्या गठबन्धनले मिलेर संविधान र व्यवस्थामाथि नै कुू गरेको दाबी गर्नु भएकी नेतृ भुसालले ओलीकै कारण गर्व लायक उपलब्धि माथि कालो बादल मडारिएको बताउनु भयो । ‘कसले के बोल्यो, के गर्यो र के गरिरहेको छ भन्ने कुरा प्रत्येक जनतालाई थाहा छ, मैले भनिरहनै पर्दैन’ वहाँले भन्नुभयो, ‘रगतसँग साटेको संविधान संकटमा पर्दा केपी ओलीले ठिक गरे भन्ने मानिसहरुले संविधान, गणतन्त्र र संघीयता के हो बुझ्न सक्दैनन्न, उनीहरूलाई सम्झाउनु समयको समयको बर्बादी मात्रै हो ।’ प्रतिनिधिसभा पुनस्थापना हुनेमा आफू बिश्वस्त रहेको पटकपटक दोहोर्याउनु भएकी वहाँले सम्मानित सर्बोच्च अदालत र न्यायाधीशहरु ओलीको सेटिङको साक्षी बन्लान भनेर सोच्न नसकिने तर्क गर्नु भयो ।
‘ओली सिफारिस गर्ने, विद्या कलम तिखारेर हस्ताक्षर गर्न बस्ने,हामीले देखेको दृश्य र यथार्थ पनि यही हो’ वहाँले भन्नुभयो, ‘ओली र उनको कदम अवस्य पराजित हुन्छ तर सर्बोच्चको फैसला नआउञ्जेल ढुक्कले बस्न अग्रगामीले हुँदैन ।’ नेतृ भुसालले अहिलेको लडाइँ नेताहरु बीचको नभई गणतन्त्र राख्ने र नराख्ने बीचको भएको उल्लेख गर्नु भयो ।
पार्टीका केन्द्रीय सदस्य रबिन कोइरालाले ओलीले हतास मनस्थितिमा पुगेर जे पायो त्यही बोल्न थालेको बताउनु भयो । ओलीले हिजो बिराटनगरमा दिएको अभिव्यक्ति त्यसैको उपज भएको वहाँको टिप्पणी थियो । कार्यक्रमकै बिच प्रतिष्ठानले झापा जिल्ला सहकारी संघलाई संस्थागत रुपमा सम्मान गरेको थियोे ।