बैतडीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । बैतडी जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत आरोपी सार्वजनिक गरेको प्रहरीले भट्टको बलात्कार र हत्याको कारण पारिवारिक रिसइवी देखिएको जानकारी दिएको छ । बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टको बलात्कार र हत्या आरोपमा प्रहरीले उनका छिमेकी दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार शङ्कास्पद व्यवहारका कारण दिनेश प्रहरी नजरमा थिए । अनुसन्धानका क्रममा फेला परेका विवरण र उनको गतिविधि मिलेपछि उनलाई पक्राउ गरिएको हो । ‘घटनामा उनी संलग्न रहेको पर्याप्त आधार फेला परेकाले नै पक्राउ गरिएको हो’ सिंहले पत्रकारसंग भन्नुभयो, कारण पारिवारिक रिसइवी देखियो ।’
दैनिक हाजिरीमा थिए दिनेश ।
भागरथीको शव फेलापरेपछि सनातन धर्म माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिदा आरोपी दिनेश पनि सहभागी थिए । तर उनी आक्रोशित भन्दा बढी डराएका देखिएपछि प्रहरीले शङ्काको घेरामा राखेको थियो । अनुसन्धानको क्रममा शङ्का लागेकालाई प्रहरीले दैनिक हाजिरीमा राख्नेक्रममा दिनेश चार दिनदेखि दैनिक हाजिरीमा थिए ।
प्रहरीले कार्यालय बोलाउने र हाजिर गराएर छाड्ने गरेपछि उनको स्वभाव थप बदलिएको अनुसन्धान स्रोतले बतायो। गाउँमा परिवारै त्यति नमिल्ने रैछन्। घर पनि एकान्त स्थानमा सारेका रैछन’ स्रोतले भन्यो ‘केही छिमेकीले पनि उनको बदलिएको स्वभावबारे जानकारी दिएपछि बढी शङ्का उनीमाथि नै भयो ।’
कक्षा ११ का विद्यार्थी
भागरथी कक्षा १२ मा पढ्दै थिइन्। दिनेश कक्षा ११ मा । उनी भागरथीलाई दिदी भनेर सम्बोधन गर्थे । प्रवक्ता सिंहका अनुसार घटनाको दिन उनी भागरथी भन्दा केही दुरीमा पछ्याउँदै हिँडेर एकान्तस्थल आएपछि पहिला घाइते बनाएर पछि हत्या गरेका थिए ।
सोधपुछमा उनले घटना स्विकारेपछि पक्राउ गरियो । दिनेश एक्लै कि सहयोगी छन भन्ने पत्रकारको प्रश्नमा सिंहले भन्नुभयो, ‘किशोर उमेरका भए पनि शारीरिक रूपमा गठिलो छन उनी ।’ तै पनि कसैको सहयोग लिएकी भन्नेमा अनुसन्धान केन्द्रित हुँदा समय लम्बिएको प्रहरीको भनाई छ ।
‘पहिला लडाएर घाइते बनाएपछि घाँटी थिचेर हत्या गरेको स्विकारे’ सिंहले भन्नुभयो, ‘शव घिसारेर झाडीमा छोपेर घर गएको देखियो ।’ अनुसन्धान प्रभावित हुने भएकाले रिसिइबीका बारेमा भने प्रहरीले केही बताएको छैन ।
बलात्कार हत्यापछि कि अघि ?
पोस्टमार्टममा बलात्कार समेत भएको देखिए पनि भागरथीको हत्यापछि बलात्कार कि बलात्कारपछि हत्या भन्ने प्रहरीले खुलाएको छैन । तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन्। । प्रहरीले भागरथी हत्याको अनुसन्धानमा डिआइजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्युरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारी लगायत थिए ।