४ फागुन,झापा ।। नेपाली कांग्रेसको राजनीतिमा चतुर खेलाडी मानिने नेता कृष्णप्रसाद सिटौला मंगलबार पूर्वीनाका काँकडभिट्टाको एक कार्यक्रममा आफ्नो त्यही चर्तुयाइँको प्रयोग गरेर उम्किनु भएको छ । वहाँलाई कार्यक्रमका अन्य वक्ताले हिन्दूराष्ट्रका पक्षमा बोल्न बाध्यात्मक अवस्था सिर्जना गरेपछि नेता सिटौला चर्तुयाइँपूर्वक मध्यमार्गी बाटो रोजेर अफ्ठ्यारोबाट उम्किनु भएको हो । जैन सम्प्रदायका अग्रज डा मणिभद्र मुनिजी महाराज र श्री विराग मुनिजी महाराजले काँकडभिट्टाबाट सुरु गरेको सर्वोदय शान्ति पदयात्राको स्वागतमा मानव मिलन संस्था परिवार नेपालले गरेको कार्यक्रमका वक्ताले हिन्दूराष्ट्रका पक्षमा बोल्न सिटौलालाई दवाव सिर्जना गरेका थिए ।
पदयात्रामा निस्केका महाराजहरुलाई लिन मेची पुल पुगेका उनीहरूका समर्थकले पुलमै हिन्दूराष्ट्र जिन्दावादको नारा लगाएका थिए । नेपालको राष्ट्रिय झण्डासहित पुगेका उनीहरूले त्यस्तो नारा लगाउँदा भने नेता सिटौला त्यहाँ हुनुहुन्न थियो । साइ केन्द्र काँकडभिट्टामा आयोजित महाराजहरु सहभागी कार्यक्रममा नेता सिटौला प्रमुख अतिथि हुनुहुन्थ्यो । सिटौला कार्यक्रमको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा धार्मिक व्यक्तित्व लक्ष्मीप्रसाद खतिवडा, हिन्दूराष्ट्र पक्षधर शंकरप्रसाद पाण्डे, तिलक गिरी, रेशमराज सुवेदी लगायतले बोलेका थिए ।
खतिवडा र पाण्डेले सनातन हिन्दूराष्ट्र कायम हुनु पर्ने बिचार राखेका थिए । पाण्डेले साम्राज्यवादको आडमा हिन्दूराष्ट्र तोड्न खोजेको र संविधानमा धर्मनिरपेक्ष शब्द राखेको तर्क गरेर नेता सिटौलालाई दवाव दिन पटकपटक प्रयास गर्नु भएको थियो । तत्कालीन अवस्थामा खुमबहादुर खड्काले चलाएको अभियानमा जोडिएका गिरी कांग्रेस भित्र हिन्दूराष्ट्र पक्षधर मानिनु हुन्छ ।
पुलमा लिन पुगेका समर्थक हिन्दूराज्यको नारा लगाउने र स्वागतमा गरिएको कार्यक्रमका वक्ताले सनातन धर्म र हिन्दूराष्ट्रका पक्षमा बोलेर सिटौलालाई मानसिक दवाव सिर्जना गरेका थिए । आफ्नो बोल्ने पालो आउनासाथ सिटौलाले सनातन धर्मको रक्षा, गौरक्षा, धर्म परिवर्तन गराउन नपाइने कुरा संविधानमा लेखिएको जवाफ दिएर उनीहरूको चित्त बुझाइ दिनु भएको थियो । सनातनदेखि चलेको धर्म, गौरक्षा र जवरजस्त धर्म परिवर्तन गराउन पाइने छैन भनेर लेखिनु ठूलो कुरा भएको सिटौलाले बताए पछि दवाव दिन चाहानेहरु स्वार्थ पूरा नहुने निष्कर्षमा पुग्न बाध्य भएका थिए ।
नेता सिटौलाले ूआवश्यक परे निरन्तर अघि बढ्दै जान सकिने चलाखीपूर्ण जवाफ दिएपछि त दवाद दिन लागिपरेकाहरु मौन बनेका थिए । वहाँले मुलुक असहज परिस्थितिमा रहेका बेला यस्तो यात्राले शान्तिको सन्देश दिन सक्ने बताउनु भयो । सिटौलाले हिंसावादी सोच, मन ,वचन र कर्म त्याग्न सबैलाई आव्हान गरेर सहभागीको ध्यान आफू तर्फ खिच्नु भएको थियो । सिटौला संविधान मस्यौदा समितिका संयोजक तथा गणतन्त्रबादी नेताका रुपमा चिनिनु हुन्छ ।
भारतीय जनता पार्टीको विधानसभा प्रभारी संदीपजी चोटाला लगायत सहभागी रहेको कार्यक्रममा डा मणिभद्रले बोल्न मन लागे पनि बोल्न सक्ने अवस्था नरहेको संकेतिक तर्क गर्नु भएको थियो । स्याङ्जामा जन्मेका वहाँले बाहिरी महलभन्दा आफ्नो झुपडी प्यारो हुने बताउनु भयो ।
काँकडभिट्टाबाट आज सुरु भएको यात्रा दुई महिना पछि काठमाडौँमा पुगेर पश्चिम लाग्ने छ । यात्रा धरान, विराटनगर हुँदै काठमाडौँ पुग्ने अन्तरास्ट्रिय मानव मिलन महिला सचिव सावित्रा शर्माले बताउनु भयो । पत्रकारले हिन्दूराष्ट्र स्थापानार्थ यात्रा आयोजना गरिएको हो भन्ने जिज्ञासा राखेपछि आयोजकले त्यस्तो नभएको प्रस्ट्याएको थियो । आयोजक संस्थाका सदस्य अर्जुनकुमार पौडेलले राजनीतिक यात्रा बिल्कुल नभएको बताउनु भयो । वहाँले पत्रकारलाई त्यसरी नबुझिदिन अनुरोध गर्नु भएको थियो ।