चितवन, फागुन ३ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा लखेट्ने बताउनु भएको छ ।
चितवनमा सोमबार आयोजित सरकारविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री ओलीलाई झापा लखेट्ने बताउनु भएको हो ।
“संसद् पुनःस्थापना भए, प्रधानमन्त्री ओलीले ठूलो खर्च गरेर दमकमा भ्यु टावर बनाउनु भएको छ, त्यहीँ विचरण गर्न पठाउने हो,” नेता थापाले भन्नुभयो । वहाँले सर्वोच्च अदालतलाई खुट्टा नकमाउन पनि आग्रह गर्नु भयो।
नेता थापाले अदालतले कर्तव्य पालना गरेर संविधानका धारा पल्टाएर फैसला गरे प्रतिनिधि सभा पुनःस्थापना हुने समेत जिकिर गर्नु भयो । “अदालतले खुट्टा नकमाउओस् । अदालतले कर्तव्य मात्र पूरा गरोस् । धारामात्र हेरोस्,” वहाँले भन्नुभयो ।
नेता थापाले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानका जगमा हान्ने काम गरेको दाबी गर्नुभयो । वहाँले संविधानमा भएका कमिकमजोरी सच्याएर अगाडि बढ्ने आधारमा टेकेर अगाडि नबढे मुलुक ठूलो दुर्घटनामा पर्ने दाबी गर्नु भयो ।
“संविधानमा भएका कमजोरी सच्याएर, नभएका कुरा थपेर अगाडि बढ्ने आधार हामीसँग छ,” थापाले भन्नुभयो, “यो आधारमा टेकेर अगाडि गएनौं भने ठूलो दुर्घटनमा पर्छौं ।” वहाँले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नै नभएको पनि जिकिर गर्नु भयो ।