इटाभट्टा, फागुन २ ।
झापामा आजदेखि दोस्रो चरणको कोरोना खोप लगाउने अभियान शुरु हुँदैछ । दोस्रो चरणमा जिल्लास्थीत सबै सरकारी कार्यालयका कर्मचारीहरु, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा खोप लगाउन छुटेका तोकिएका ब्यक्तिहरुले आजदेखि झापामा कोभिड १९ बिरुद्धको खोप लगाउन पाउने जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख जिवन चम्लागाइले सेतोपत्रलाई बताउनु भयो ।
झापाका सबै स्थानीय तहहरुमा खोप लगाउने ब्यवस्था गरिएको र जिल्ला स्थीत पहिलो चरणमा खोप केन्द्र रहेका तीन वटा स्थानमा समेत पनि खोप केन्द्र रहने चम्लागाइले जानकारी दिनु भयो ।
झापामा मेची अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल, दमक कोभिड अस्पतालमा फागुन २, ३ र ४ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै गौरीगञ्ज गाउँपालिका, कचनकवल गाउँपालिका र अर्जुनधारा नगरपालिकामा फागनु ३ गते खोप लगाइने छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार फागुन ४ गते गौरादह नगरपालिका, बाह्रदशी गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा खोप लगाइने छ । त्यसैगरी शिवसताक्षी नगरपालिका, हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकामा फागुन ५ गते कोभिड १९ बिरुद्धको खोप लगाइने छ । फागनु ६ गते कनकाइ नगरपालिका, मेचीनगर नगरपालिका र कमल गाउँपालिकामा खोप लगाइने छ ।
यो चरणमा तोकिएका ब्यक्तिले आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर तोकिएको दिन आफ्नो पालिकामा गएर खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चम्लागाइले बताउनु भयो ।