झापा मेचीनगर ४ की कमला दर्जीलाई तीन बर्ष अघिसम्म आफ्नो परिवार र केही नजीकका नातेदारले बाहेक खासै चिन्दैन थिए । चिनेकाहरुले समेत श्रीमानको नामबाट चिन्दथे । तर अहिले अवस्था फेरिएको छ । अहिले कमलालाई आफ्नै नामले चिन्नेहरुको संख्या ह्वात्तै बढेको छ । गत स्थानीय निर्वाचनमा दलित महिला वडा सदस्यका रुपमा निर्वाचित भए पछि कमलालाई अब आफ्नै नामले चिन्नेहरु धेरै छन । कमला भन्नु हुन्छ,‘पहिला श्रीमानको नामबाट चिन्ने गरेका थिए, अहिले त आफ्नै नामले चिनिन पाएको छु ।’
वडाको कामले मेचीनगर ४ का प्राय सबैजसो घर पुग्ने गरेको बताउने कमला आफ्नो पहिचान पाएकोमा निक्कै खुसी लागेको सुनाउनु हुन्छ । कमला भन्नु हुन्छ, ‘पहिला श्रीमानका नामले चिनिन्थे तर हिजो आज आफ्नो नामले पनि श्रीमानलाई चिन्ने गरेका छन ।
जनप्रतिनिधि हुनुभन्दा पहिला आफ्नै टेलरिङ ब्यवशायमा मात्रै सिमित कमलाले तीन बर्ष यता थुप्रै कुरा सिकेको र आफु भन्दा नजान्नेहरुलाई सिकाउने मौका पनि पाएको अनुभव सुनाउनु हुन्छ । जनप्रतिनिधिको रुपमा जनताको काम गर्दा आनन्द लाग्ने गरेको कमला सुनाउनु हुन्छ । जनप्रतिनिधि भए पनि जनताको कामसंगै आफ्नो पुरानो टेलरिङ ब्यवशायलाई समेत सञ्चालन गरिरहेको कमला बताउनु हुन्छ ।
त्यस्तै मेचीनगर ५ की महिला सदस्य दुर्गा आचार्य देवकोटा पनि श्रीमान र ससुराको नामले मात्रै चिनिनु पर्दा अप्ठ्यारो महशुस गर्नु हुन्थ्यो तर अहिले दुर्गालाई भेट्न बिहानै वडाबासीहरु घरमा नै आइपुग्नु हुन्छ । वडाबासीले लिएर आएका समस्या दुर्गाले घरमा र वडा कार्यालय दुवै तिर सुन्ने गर्नु भएको छ । त्यसो त दुर्गा वडाबासीको कामका लागि गाउँ पनि प्रसस्तै हिडडुल गर्नु हुन्छ ।
अहिले आफुलाई श्रीमानको नामले चिनाउनु नपर्ने दुर्गाको भनाइ छ । दुर्गा भन्नु हुन्छ, ‘चुनावभन्दा अगाडीसम्म कोहो भन्दा फलानाको श्रीमती, फलानाको बुहारी भन्ने मात्रै आफ्नो परिचय थियो तर अहिले आफ्नै नामले चिनिन पाएको छु ।’
फोटो : मेचीनगर ५ का सदस्य चन्द्रकुमारी बिक ।
मेचीनगर ५ कै दलित महिला सदस्य चन्द्रकुमारी बिश्वकर्माको पनि जनप्रतिनिधि भए पछि घरायशी काममात्रैमा बितेको दैनिकी र परिचय नै फेरिएको छ । तीन बर्ष अघिसम्म कसैले वास्ता नगर्ने चन्द्रकुमारीलाई अहिले वडाबासीले गुनासो र खुसी दुवैमा सामेल गराउन थालेका छन । जनप्रतिनिधि भए पछि आफ्नै नामले चिनिनु नै एउटा उपलब्धी मान्नु हुन्छ चन्द्रकुमारी ।
भुमिकाका हिसाबले वडा अध्यक्षको सहयोगीको भुमिका मात्रै भए पनि वडामा महिलाहरु निर्वाचित भए पछि गुमनाम नामहरु अहिले परिचित अनुहार बनेका छन । महिला शसक्तिकरण र महिलालाई नेतृत्वमा स्थापित गर्ने योजनाहरुमा उनीहरुको प्रत्यक्ष सहभागिताले पनि आगामी दिन महिला नेतृत्व जन्माउन महत्वपूर्ण योगदान गर्ने निश्चित छ ।