झापा, माघ ३० ।
विप्लव नेतृत्वको नेकपा माओवादीका नेता धर्मेन्द्र बाँस्तोला (कञ्चन) ले पार्टीको जारी आन्दोलन आफूहरुको नभई जनताको विषय भएको बताउनु भएको छ । सुनसरीको धरानको प्रहरी हिरासतमा रहनु भएका बाँस्तोलाले देश अहिले संकटपूर्ण अवस्थामा रहेको र त्यसको समाधान सही ढंगमा नगरिए मुलुक विदेशीको चलखेल स्थल बन्ने दाबी गर्नु भयो । ‘देशको अहिलेको समस्या प्रक्रिया पुर्याएर टुङ्याउनु पर्छ, समाधान गरिनु पर्छ ।’ विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य समेत रहनु भएका बाँस्तोलाले भन्नुभयो, ‘नत्र मुलुकमा विदेशीको चलखेल हुन्छ, सधैं बुट बजारिने छ, नेपाली जाति जिप्सी जाति जस्तै हुने खतरा छ ।’
मुलुक कता जाँदैछ भन्ने स्पष्ट रेखा पहिला नै देखिएको बताउनु भएका वहाँले अहिलेको विषय सही ढंगले सम्बोधन नभए मुलुकमा ठूलो गडबडी हुने जिकिर समेत गर्नु भयो । अहिलेको व्यवस्था नबदलेसम्म मुलुकको अवस्था यस्तै हुने उल्लेख गर्नु भएका नेता बाँस्तोलाले मुलुकको व्यवस्था बदल्ने संघर्ष आफूहरूले गरिरहेको बताउन समेत भ्याउनु भयो । ‘जनताको संघर्षकै कारण देशमा परिवर्तन सम्भव भएको र गणतन्त्र आएको हो’ बाँस्तोलाले भन्नुभयो, ‘पार्टीले २०५१ मा बुझाएको ४० बुँदे मागको सम्बोधन गरिएको र निकास खोजिएको भए १७ हजारको ज्यान जाने थिएन, देश लथालिङ्ग हुने नै थिएन ।’ प्रतिनिधिसभा विघटन र अहिलेको राजनीतिक परिदृष्यलाई सामान्य र पहिल्यै अनुमान गरिएको विषय भनी टिप्पणी गर्नु भएका वहाँले नयाँ कुरा केही नभएको बताउनु भयो । अहिलेसम्म मुलुकमा ६ पटक संसद विघटन भइसकेको स्मरण गर्नुभएका बाँस्तोलाको माओवादीको एमालेमा पतनको उपज अहिलेको परिणाम भएको निष्कर्ष छ ।
‘कांग्रेस भएपनि यही हुन्थ्यो, बाबुरामजीको जनता समाजवादी वा अरु कुनै पार्टी सरकारमा भएको भएपनि यही हुन्थ्यो’ वहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिक प्रणालीले निकास दिनै सक्दैन, व्यवस्था परिवर्तन मुख्य कुरा हो, त्यो नितान्त जरुरी छ ।’ अहिलेका नेताहरू झगडा गरेर बसेको देखिएपनि त्यो सतहमा देखिने कुरा मात्रै भएको बताउनु भएका वहाँले पछिल्लो घटना उहाँहरुको (नेताहरूको) गल्तीको परिणाम नभई निकास नदिने राजनीतिक व्यवस्थाको दुष्परिणाम भएको तर्क गर्नु भयो ।
‘कारण बिना नै प्रतिनिधिसभा विघटन भएको हो, यसले मुलुक कता जाँदै छ भन्ने अवस्था बुझ्न अब कुनै गाह्रो छैन’ नेता बाँस्तोलाले भन्नुभयो, ‘यो हुनै पथ्र्यो, त्यही भयो,जे रोपियो त्यही फल्यो, हामीले बुझ्ने कुरा नै यही हो, जस्तो बोट रोपिन्छ, फल त्यस्तै फल्ने हो ।’
देश उलटपुलट हुने अवस्थामा पुगेको दोहोर्याउनु भएका वहाँ कोही मन्त्री बन्दैमा र पदमा पुग्दैमा सही निकास नआउनेमा दृढ देखिनु भयो । बाँस्तोलालेले प्रश्न गर्नु भयो, ‘ताप्लेजुङदेखि डोल्पा, मेचीदेखि महाकालीसम्मका मानिसको पेट अहिले भरिएको छ ? गरिबका आङमा लुगा छ कि गरिबको भोक मेटिएको छ ?’ राज्यको तर्फबाट अहिले पनि कुनै पनि नागरिकले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा नपाएको दलिल पेश गर्नु भएका वहाँले अहिलेकै अवस्थामा आर्थिक, सामाजिक, वर्गीय र अन्य कुनै पनि परिवर्तन सम्भव नभएको बताउनु भयो । आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनको भाग्यमानी मानिस भनेर व्याख्या गर्नु भएका वहाँले कालगतिले नै मरे पनि र आफ्नो पालामा सम्भव नभए पनि अर्को पुस्ताले आन्दोलन पार लगाउने तथा लगाउनै पर्ने बाध्यता रहेको बताउनु भयो ।
‘मैले चाहेको भएं तीनचार पटक मन्त्री भइसक्थे, त्यो अफर नआएको पनि होइन’ वहाँले भन्नुभयो, ‘मौका पनि थियोे, म अर्बौ कमाउन पनि सक्थे, यो व्यक्तिको कुरा हो, मुलुकको समस्या समाधान हुँदै होइन ।’ अध्ययन, पारिवारिक अवस्था र तत्कालीन माओवादी युद्धका बिषयमा बोल्न भ्याउनु भएका वहाँ त्यो बेला अन्तराष्ट्रिय बिभागको जिम्मेवारी सम्हाल्हीरहनु भएको थियो । वहाँले युरोप, अमेरिका, लगायत देशमा बस्दाको अनुभूति पनि सुनाउन भ्याउनु भयो । कम्युनिस्ट आन्दोलनमा लागेर आफूलाई कुनै पछुतो नभई गर्व लागेको सुनाउनु भएका वहाँले जति गर्न खोजिएको त्यो नसकिएको र कसैनकसैले अहिलेको आन्दोलन पार लगाउने ठोकुवा गर्नुभयो । ६० बर्षीय बाँस्तोला अहिले कान कम सुन्न हुन्छ । वहाँले धरानको बसाइँ सामान्य रहेको बताउनु भयो ।
चारदिन अघि धरान ल्याइएका वहाँले बसेको ठाउँमा भीड हुने गरेको, छुट्टै नभई समूहमा नै खाना खाने गरेको, टेलिफोन प्रयोग गर्न नपाएको सुनाउनु भयो । वहाँले पैसा भए बाहिरबाट खाने कुरा किनेर ल्याउन सकिने अवस्था रहेको जनाउनु भयो । सर्बोच्च अदालतले छाडेपछि आफूलाई दुई पटक काठमाडौँ जिल्ला अदालत पुर्याएर ३५ हजार धरौटी लिएर छाडे पनि अड्डासार गर्दै धरान ल्याएको वहाँको भनाइ छ । २७ घण्टा गाडीमा हिँडाएर धरान ल्याइ पुर्याउदा आफू बेहोस हुने अवस्था भएको बताउनु भएका वहाँले आफूसँगै छाडिएका दुईजनालाई पनि प्रहरीले पुनः पक्राउ गरेको बताउनु भयो । वहाँहरूलाई राखिएको ठाउँ आफूलाई थाहा नभएको वहाँले सुनाउनु भयो ।
विप्लव नेतृत्वको पाँच सदस्यीय सचिवालयका तेस्रो वरियताका नेता बाँस्तोलालाई हातहतियार तथा खरखजाना मुद्दा लगाइएको छ । सचिवालयमा विप्लव, प्रकाण्ड, बाँस्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढामगर छन । ओली अहिले नख्खु जेलमा हुनुहुन्छ । खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा पुगेर नेता ओलीलाई भेटेको आफूले सुनेको बताउनु भएका वहाँले आफू जेल पर्नु अघि सरकारसँग वार्ता गर्ने तयारी थालिएको र वार्ता कमिटी गठनका विषयमा छलफलसम्म भएको जनाउनु भयो ।