काठमाण्डौ, माघ २८ ।
प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुस सहित सभा आयोजना गरेको छ । कार्यक्रममा प्रचण्ड– नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताउँदै देश र जनताको उपलब्धिकालागि सक्षम नेतृत्व र संरचनाचाहिने बताउनुभयो । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा आयोजित आम सभामा सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधानहुने बताउनु भयो । त्यस्तै नेताशर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टी भन्दा देश प्यारो भएको पनि बताउनु भयो ।
यस्तै,नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखकालागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताउनु भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपीओलीले घोषणा गरेको वास्तविक चुनाव नभएकोले त्यसलाई प्रतिगमनविरुद्धको आन्दोलनले खारेज गर्ने दाबी गर्नु भयो । केपी ओलीले चुनाव गर्न घोषणा गरेको पनि होइन, चुनाव नगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्र विरोधी भएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमन विरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं श्रेष्ठले भन्नु भयो । सारा लोकतन्त्रवादीहरु चुनावको पक्षमा रहेको प्रस्ट्याउँदै नेता श्रेष्ठले अहिले घोषणा गरिएको चुनाव संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने भएकोले आफूहरुलाई मान्यन हुने बताउनुभयो । संविधानलाई घात गर्ने चुनाव, संविधानलाई अपहरण गरेर संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव हामीलाई चाहिएको होइन, त्यो लोकतन्त्र अन्तर्गतको चुनाव होइन, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
यस्तै नेता रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध बोल्न पाउनुपर्ने बताउनु भयो । नेताझाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यस विरुद्ध बोल्ने बताउनु भयो । हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्तभएको उपलब्धि एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्ने हो, झाक्रीले भन्नु भयो । एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ ।
आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको भनाइ
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहा पाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताउनु भएको थियो र ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । आज आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिदै आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताउनु भयो ।
प्रचण्डले प्रधानमन्त्री ओलीलाइ सभा कस्तो हुन्छ ? देख्नुभयो ? भनेर प्रश्न गर्नु भएको थियो । अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मापार्ने चेतावनी पनि उहाँले दिनुभयो । अध्यक्ष प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउनलागेको पनि बताउनु भयो ।
संयुक्त आन्दोलनमा आउन नेता खनालको आग्रह
नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गर्नु भएको छ । आज काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको भन्दै सबै दलहरुको सरोकारको बिषय भएको बताउनु भयो । पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यस विरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले काँग्रेस, जनता समानवादी पार्टी लगायतका दलहरुलाई संयुक्त आन्दोलन गर्नमा सामेल हुन आग्रह गर्नु भयो ।