मेचीनगर, भदौ १५ ।
आज झापाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड सम्पर्क ब्यक्ति जीवन चौलागाईंले दिनु भएको जानकारी अनुसार झापाको कमल गाउँपालिका वडा नं ३, ५ र ६ का २ महिला र २ पुरुष रहनु भएको छ ।
चौलागाईंका अनुसार कमल गाउँपालिकामा आज संक्रमण पुष्टि भएका सबै समुदायस्तरका ब्यक्ति हुन । थप ४ जनामा कोरोना देखिदा झापामा कोरोना संक्रमितको संख्या ५८० पुगेको छ । जसमा ४२९ जना संक्रमण मुक्त हुँदा १५१ जना आइसोलेशनमा रहनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबिच नेपालमा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १२९ वटा पीसीआर परीक्षणमा ८९९ जनामा कोरोना भेटिएको हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।
त्यस्तै प्रदेश नं १ मा आज झापाका ४ सहित मोरङ १९, सुनसरी २५, संखुवासभा ९, ओखलढुंगा १, खोटाङ १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल पीसीआर परीक्षणको संख्या ६ लाख ९३ हजार ४७२ पुग्दा आजसम्म कुल संक्रमितको संख्या ३९ हजार नाघेको हो ।
यसैबिच नेपालमा आज देशभर पछिल्लो २४ घण्टामा ५८८ निको भएर डिस्चार्ज हुँदा हाल सम्म नेपालमा निको भएर घर फर्कनेको संख्या २१ हजार ४१० पुगेको छ । जुन कुल संक्रमितको ५४ प्रतिशत रहेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा आइसोलेशनमा रहनेको संख्या १७ हजार ८२२ जना रहँदा क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३३७ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाका संक्रमित मध्ये १३२ जना आइसियूमा रहँदा भेन्टिलेटरमा रहनेको संख्या १६ रहेको छ ।
थप ७ जनाले ज्यान गुमाए
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको ज्यान गएको छ । ३ महिला र ४ पुरुष सहित ७ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् ।
आज झापाका ८६ बर्षीय एक पुरुष सहित ७ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या २२८ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।