झापा । कुनै समय क्यान्सर भन्ने वित्तिकै मान्छेहरु त्रस्त हुन्थे । क्यान्सर लागेपछि मान्छे बाँच्दैन भन्ने हाम्रो बुझाई थियो । तर, यो प्राणघातक रोगले मान्छेलाई मारिहाल्दैन, वरु सचेत भएर उपचार गर्दा उल्टै क्यान्सरलाई पछार्न सकिँदोरहेछ ।
झापामा धेरै पात्र क्यान्सरलाई पराजित गरेर सामान्य जीवन बाँचिरहेका भेटिएका छन् । ती हुन् व्यवसायीहरु शंकर भट्टराई र रमेशकुमार दाहाल तथा शिक्षकहरु हिमादेवी दाहाल र रुपसागर अधिकारी । यी चारै जना पात्रसंग क्यान्सर नमज्जाले पराजित भयो । यी तपाई हाम्रा प्रेरक पात्र पनि हुन् । यिनीहरु सामान्य मानिस सरह आफ्नै नियमित काममा सक्रिय जीवन चलाइरहेका छन् ।
यस्तो छ उनीहरुको क्यान्सर भोगाईः
आत्मबलले क्यान्सर जितेँ
झापा मेचीनगर ६ काँकरभिट्टा शान्ति रमाइलो गाउँका ५० बर्षीय शंकर भट्टराईलाई तीन बर्ष अघि नाक र घाँटी जोडिएको ठाउँमा क्यान्सर भयो । जसलाई चिकित्सकीय भाषामा नेजोफ्रेन्जोल क्यान्सर भनिन्छ । ‘करीब दुई बर्षको उपचार पछि म अहिले पूर्ण रुपमा स्वस्थ्य भएको छु,’ भट्टराईले भने, ‘उपचार प्रक्रिया अलि लामो हुँदा कहिले काहिँ दिक्क लाग्दो जीवन पनि भोग्नु पर्यो तर अहिले ठिक भएर आफ्नो काममा फर्किसकेको छु ।’
प्रारम्भमा भट्टराईको दाहिने कानको तल पट्टि सानो गाँठो निस्किएको थियो । त्यो नदुख्ने गाँठो बिस्तारै बढ्दै गयो । २०७४ सालको मंसिर दोस्रो साता भारतको सिलिगुडी पुरेर चिकित्सकको सल्लाह लिंदा एफएनएससी परीक्षण गराउन भन्ने सल्लाह पाए । दाहिने कानको तल पट्टिको गाँठोबाट पानी निकालेर एफएनएससी परीक्षण गराइयो । २०७४ मंसिर २१ गते रिपोर्ट आउँदा त्यो गाँठो क्यान्सर भएको पत्ता लाग्यो ।
क्यान्सर भएको थाहा पाउँदा शुरुमा त भट्टराई अचम्ममा परे । आत्तिए पनि । ‘शरीरमा कुनै समस्या नै छैन कसरी क्यान्सर भयो,’ भट्टराईले सुनाए, ‘मेरो शरीर पुरै स्वस्थ्य थियो, कतै केही समस्या थिएन तर क्यान्सर भयो भन्दा पत्यारै लागेन ।’
क्यान्सर भएको थाहा पाउने बित्तिकै उपचारका लागि दिल्ली जाने निर्णयमा पुगे । तीन दिनमा दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा पुगेर उपचार शुरु गरे ।
उपचार शुरु भए पछि पिडादायी समय बिताएको अनुभव भट्टराइसंग छ । उपचारको शुरुवातमा खाना नरुच्ने, वाकवाकी आउने, घाउ पाकेर दुख्ने समस्या भएको उनले बताए । भट्टराईलाई एक बर्षको समयमा ३१ वटा रेडिएसन दिइएको थियो ।
शुरुमा करि सय दिन दिल्लीमा बसेर उपचार गराइएको र त्यस पछि १५ दिन घर आएर बसेको भट्टराईले सुनाए । उनलाई १५ दिन पछि ९६ घण्टा लगाएर केमोथेरापी गरेको, दोस्रो पटक पनि १५ दिन पछि लगातार ९६ घण्टा लगाएर केमो चढाइएको थियो । चार महिना भट्टराईले झोल पदार्थ त्यसमा पनि बिशेष पानी मात्रै खानु पर्यो । ‘त्यो समय मेरा लागि निक्कै पीडा दायी थियो,’ उनी सुनाउँछन् ।
करीब एक बर्षको आरामपछि केही काम गर्न शुरु गरेको बताउने भट्टराई अहिले आफ्नो नियमित काममा फर्किसकेका छन् ।
क्यान्सर लाग्ने बित्तिकै मानिस नमर्ने तर सुरक्षित हुनु पर्ने भट्टराईको सुझाव छ । ‘हाम्रो समाजमा क्यान्सर लागेपछि मरिहाल्ने वा उपचार गरे पनि धेरै समय नबाँच्ने र पहिला जस्तै गरी काम गर्न नसक्ने जस्ता गलत हल्लाहरु छन जुन कुरालाई सबैले चिरेर सकरात्मक कुरा समाजमा स्थापित गर्नु पर्छ,’ भट्टराई भन्छन्,‘डाक्टरको सल्लाह अनुसार आफ्नो जीवनशैलीलाई ब्यवस्थित गर्न सके क्यान्सरको उपचार पछि सबै मानिस सामान्य रुपमा जीवनयापन गर्न सक्छन ।’
पाठेघरमा समस्या आउँदा खेलाँची नगरौ
झापा मेचीनगर १० लालपानीकी ६२ बर्षीया हिमादेवी पौडेलसंग कुराकानी गर्न घरमा पुग्दा हिमादेवी आफ्नै बारीमा रमाइरहेकी थिइन् । ‘मेरो त दैैनिकी यही बारीमा नै बित्छ ,’ उनी भन्दैथिइन् ‘क्यान्सरको बिरामी हो जस्तो लाग्नै छाडिसक्यो, सबै काम गरिरहेको छु ।’ हिमादेवी पाठेघरको सिष्टको क्यान्सरबाट लामो समय विरामी भइन् । उपचार पछि अहिले पूर्णरुपमा स्वस्थ वनेकी छिन्् । दिदी वहिनीहरुलाई उनी सुझाव दिन्छिन्,‘पाठेघरमा सामान्य समस्या आउँदा पनि खेलाँची नगरौ, समयमै उपचार गरौ ।’
२०६९ सालको मंसिरको अन्तिम साता तिरबाट हिमादेवीलाई अचानक पिसाब बन्द हुने समस्या शुरु भयो । पिसाब बन्द संगै बेहोस नै हुन थालिन् । ‘कति पटक त शौचालयमा नै बेहोस भएर लडें ’ पौडेलले भनिन्, ‘ करिब १० दिन जति तेस्तै भयो त्यसपछि मात्रै डाक्टर देखाउन गएँ ।’
शुरुमा बिर्तामोडको एउटा अस्पतालमा डाक्टरले जाँच गरेर ५ दिनको औषधी खान दिएको थियो । उक्त औषधीले कुनै सुधार नभएपछि एक्सरे गर्दा डाक्टरले समस्या छ भन्दै थप उपचारका लागि भारत जान सल्लाह दिएको थियो । ‘एक्सरे गरेर घर फर्किदा गाडीमा नै बेहोस भएछु,’ हिमाले भनिन्, ‘बुहारी साथमै थिइन उनैले लाश जस्तो अवस्थामा घरमा ल्याइ पुर्याएपछि मात्रै थाहा पाएँ ।’
हिमादेवीको जेठो छोरो निरज सहित परिवारका धेरै सदस्यहरु काठमाण्डौमा नै रहेकाले थप उपचार काठमाण्डौमा नै गर्न सजिलो हुने भएर परिवारको सल्लाह अनुसार नै हिमादेवीलाई काठमाण्डौ लैजाने तयारी भयो । श्रीमान घनेन्द्र पौडेलको २०५० सालमा नै निधन भइसकेको र दुई छोरा र एक छोरी अध्ययनकै क्रममा रहेकाले देवर माधव पौडेल र देवरानी शोभा पौडेलले हिमादेवीलाई २०६९ पुस २३ गते उपचारका लागि काठमाण्डौ लगे ।
२०६९ पुस २५ गते ओम अस्पतालमा डा भोला रिजाललाई परिक्षण गराउँदा तत्कालै अप्रेशन गर्नु पर्ने बताए पछि भोलि पल्टै अप्रेशन गरेर पाठेघरको सिष्ट निकालिएको हिमादेवीले सुनाइन् । ‘अस्पताल पुर्याउँदा मलाई लाश जस्तै अवस्थामा पुर्याएका थिए,’ उनले सम्झिइन् ‘ मेरो शरीर उठ्नै नसक्ने अवस्थामा थियो, म त काठको मुडो जस्तै थिएँ ।’
अप्रेशन गरेको ५ दिन पछि बायप्सीको रिपोट आयो त्यसमा क्यान्सर पुष्टी भयो । क्यान्सर भन्ने थाहा भएको भोलि पल्टदेखि नै हिमादेवीलाई ओम अस्पतालमानै केमो चढाउन थालियो । परिवारका सबै सदस्यले हिमादेवीलाई निरन्तर उपचारमा सहयोग गरिरहे । पहिलो पटक केमो चढाउँदा औषधीले एलर्जी भएर रातभरि सुत्न नसकेको उनले सुनाइन् ।
जम्मा ६ साइकल केमो दिए पछि हिमादेवीलाई डाक्टरले एक महिनाको आराम दिएको थियो । त्यो समयमा घर फर्किइन । २०७० जेठ १३ गते अन्तिम केमो दिएपछि २०७० साउन २५ गते घर फर्किएकी थिइन् ।
घर आएर एक महिनाको आरामपछि काठमाण्डौमा पुगेर सिटि स्क्यान गर्दा शरीरमा क्यान्सर नभएको रिपोट आयो । ‘त्यसपछि चै बाँच्छु कि भन्ने लाग्यो’, उनी भन्छिन् ,‘पछिल्लो पटक एक बर्षभन्दा बढी समय भयो डाक्टरलाई देखाउन नगएको तर पनि कुनै समस्या छैन ।’
मेचीनगर ७ इटाभट्टास्थित सरस्वती आधारभुत बिद्यालयमा अस्थाइ शिक्षकको रुपमा कार्यरत रहँदाकै समयमा क्यान्सर भएर करिब ८ महिना हिमादेवीले बिद्यालय जान सकिनन् । ‘परिवारका सदस्यले तेती बेलै अब जागिर छोड्नु भनेका थिए तर मैले मानिनँ ,’ उनले भनिन्‘घर फर्किए पछि म स्कुल जान थालें तर परिवार सबैले जागिर खान पर्दैन भन्दैथिए तर म बिस्तारै स्कुल जाने र सकेको पढाउन थालें ।’
हिमादेवीको अहिलेको दैनिकी घरको काम र बारीमा सागसब्जी लगाउने मै बितिरहेको छ । त्यससंगै नयाँ घर पनि बनाउँदै छिन् । ‘छोराहरुले नयाँ घर पनि बनाउन थालेका छन । बिहान हिडेका दुवै जना बेलुका मात्रै घर आइपुग्छन त्यसैले घर निर्माणको रेखदेख पनि बुहारी र मैले नै गर्नु पर्छ ।’
क्यान्सर बोकेर चुनावी प्रचारमा
क्यान्सर जीतेका जुझारु युवा हुन्, ३९ बर्षिय रुपसागर अधिकारी । जतिबेला २०७४ सालको स्थानीय तहको चुनावी सरगर्मी बढिरहेको थियो, त्यो बेला मेचीनगर ७ इटाभट्टाका अधिकारी चुनावी प्रचारप्रसारमा निक्कै कस्सिएर लागेका थिए । नेपाली कांग्रेसमा आवद्ध अधिकारी आफ्ना पार्टीका उम्मेद्वारलाई बिजयी बनाउन चुनावी अभियानको रणनिति नै कोर्दै थिए । ठिक त्यसै बेला उनको गालामा केही असहज महसुस भयो ।
चुनावी ब्यस्तता यति बढेको थियो कि अधिकारीले आफ्नो शरिरको दुखाइलाई समेत खासै वास्ता गर्ने फुर्सद पाएनन् । । अधिकारीका लागि त्यो बेला साना तिना दुखाइ त के हात खुट्टै भाँचिए पनि चुनावी अभियानलाई सफल बनाउन र आफ्ना पार्टीका उम्मेद्वार जिताउनु नै पहिलो प्राथमिकता थियो । ‘जतिजति चुनाव नजिकिदैं थियो,त्यति वेलै मेरो देब्रे गालाको दुखाइ पनि बढिरहेको थियो’, उनी सम्झिन्छन,‘दुखाइ कम गर्न दैनिक ३ वटासम्म पेन किलर खाएर चुनावी प्रचारमा हिंडिरहें ।’
जसै स्थानीय चुनावको नतिजा आयो, अधिकारीको गालाको दुखाइ पनि खपिनसक्नु भयो । शुरुमा त परिवारलाई थाहै थिएन । जिब्रोले मासु पलाएको जस्तो महसुस गराउन थालेको थियो । उनलाई भित्र भित्रै कतै क्यान्सर त भएन भने शंका पनि लागिरहेको थियो । तर केही समय पछि देब्रे गाला सुनिदैं गयो । केही दिनमा नै सुनिएको देखिन थाल्यो । त्यो बेला अधिकारीलाई आमाले सोध्दा ‘गालामा सुपारी हालेको छु’ भन्दै टारेछन् ।
तर जब गालाबाट रगत निस्कन थाल्यो त्यस बेला परिवारले तत्कालै उपचार गराउन दबाब दियो । त्यो बेला भने अधिकारीलाई आफुलाई क्यान्सर नै भएको हो भन्ने पक्का भयो । क्यान्सर भएको हो भने बाँच्दिन होला किन उपचार गर्नु भन्ने गलत सोच पनि उनको दिमागमा आएछ । उनले सम्झिए,‘क्यान्सर भएपछि उपचार हुँदैन अब मरिन्छ भन्ने लाग्यो ।’
परिवारको दबाबमा धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षण गराउँदा क्यान्सर नै भएको पुष्टी भयो । ‘क्यान्सर नै भएको भन्ने डाक्टर बताएको पहिलो पटक थाहा पाउँदा अब मर्छु भन्ने लागेको थियो,’ अधिकारी भन्छन,‘मलाई बाहिर राखेर मामालाई भित्र एक्लै बोलाएर डाक्टरले तपाइको भान्जालाई क्यान्सर छ भनेछ ।’
धरानमा डाक्टरले अप्रेसन गर्नु पर्छ भन्यो । अप्रेसन नै गर्नु पर्ने भए भारतको राम्रो अस्पताल गएर गर्ने भन्ने परिवारको योजना वनेपछि २०७४ साउनको तेस्रो साता अधिकारी उपचारका लागि दिल्लीको राजीव गाँन्धी क्यान्सर अस्पतालमा पुगे । त्याहाँको डाक्टरले देखाएको ब्यवहार र हौसलाबाट अधिकारीलाई बाँच्ने आशा पलायो । दिल्लीको डाक्टरले केमो दिनु पर्छ भने पछि केमो दिने तयारी हुँदै गर्दा दिल्लीकै अस्पतालको शाखा काठमाण्डौमा नै भएको र त्यही पुगेर केमो दिन सकिने भनेपछि अधिकारीले काठमाण्डौको हरिसिद्धिमा आएर केमो दिन शुरु गरे ।
काठमाण्डौमा केमो दिन जाँदा त्याहाका डाक्टरले दिएको उर्जाले अब बाँच्न सक्छु कि भन्ने आशा पलाएको अधिकारी बताउँछन् । उनी भन्छन्,‘ डाक्टरको काउन्सिलिङले बाँच्ने आशा भयो जब केमो दिन शुरु भयो त्यस पछि अब मर्दिन जस्तो लाग्यो ।’
तीन महिना केमो दिएर सिटि स्क्यान गरेर हेर्दा हड्डीमा क्यान्सर पुगेको देखिएन । क्यान्सर पुरै ठिक हुने अवस्थामा नै रहेको चिकित्सकले बताए पछि आफ्नो नयाँ जीवन शुरु भए जस्तो लागेको अधिकारीले सुनाए ।
‘अप्रेसन गर्दा बेहोस हुनु भन्दा अघिको म र अप्रेसन पछि ब्युँझिएको म दुई फरक मान्छे हो जस्तो लाग्छ ,’उनले अनुभव साटे ।
केमोथेरापी गराउँदाको तीन महिनाको समय अत्यन्त पीडा दायक वन्यो । शरिर दुब्लो हुँदै गयो । खान अरुची भयो । शरीरमा अनेक थरीका समस्या आइरह्यो । ‘त्यो बेला परिवारकै हौसलाले मलाई बचायो,’उनले भने ।
अधिकारीले केमोथेरापी सकिएको एक बर्ष समाजसंग टाढा रहेर घरमै बसेर विताए । एक बर्ष पछि दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा अप्रेसन गराए । अहिले सबै ठिकठाक छ । सामान्य छ । नियमित चेकजाँचका लागि ६–६ महिनामा दिल्ली पुग्छन ।
विभिन्न संघ संस्था आबद्ध फुर्तिला युवा अधिकारी शिक्षण पेशामा आवद्ध छन् । मेचीनगर ८ को एभरेष्ट भ्यू अग्रेजी माविको कोर्डिनेटरका रुपमा कार्यरत उनी अहिले पनि नियमित बिद्यालय जान्छन् । ‘क्यान्सर भन्दा अगाडी दैनिक ३ र ४ वटा कक्षा पढाउथँे तर अहिले बिद्यालयको प्रशासनिक काम मात्रै गरिरहेको छु,’,अधिकारी भन्छन्,,‘गालामा क्यान्सर भएका कारण बोल्न गाह्रो हुन्छ ।’
उनी कुनै समय नियमित गुड्खा सेवन गर्थे । गुड््खाकै कारण आफूलाई क्यान्सर भएको उनलाई लाग्छ । उनी सल्लाह दिन्छन्,‘पान सुपारी, गुड्खाजन्य कुरा भविष्यमा क्यान्सरका कारण हुन, यस्ता वस्तुको सेवन नगर्नु उत्तम हुन्छ ।’
क्यान्सरले गुम्यो जागिर
क्यान्सरलाई जित्ने मात्रै होइन आफ्नो दैनिकीलाई ब्यवसायसंग जोडेर मासिक रुपमा लाखौं आर्जन गर्ने उदाहरणीय ब्यक्तिहरु पनि हाम्रै समाजमा भेटिए । ती हुन् झापा अर्जुनधारा नगरपालिका १० का ४२ वर्षीय युवा रमेशकुमार दाहाल ।
समाजशास्त्र र जनसंख्यामा स्नातकोत्तर गरेका दाहाललाई २०६९ सालको पुस महिनामा क्यान्सर देखियो । त्यसबेला उनको विहे समेत भएको थिएन । उमेरले करिब दुईकोरी टेक्नै लागेको थियो । क्यान्सर जाती भए पछि नै ४२ बर्षीय दाहालले ४ बर्ष अघि मात्रै विहे गरे ।
जिब्रोमा मासु पलाएर केही अप्ठ्यारो भएपछि काठमाण्डौको त्रिबि शिक्षण अस्पतालमा परिक्षण गराउँदा क्यान्सर प्रमाणित भयो । तत्काल अप्रेशन गरेर जिब्रोको मासु निकाल्नु पर्ने चिकित्सकको सल्लाह अनुसार क्यान्सर भन्ने थाहा पाएको सातौं दिनमा त्रिबि शिक्षण अस्पतालमा नै दाहालको अप्रेशन सम्पन्न भयो । जिब्रोको आधा भाग नै काटेर फाल्नु परेको दाहाल सुनाउँछन् ।
जिब्रोमा क्यान्सर भयो भन्ने थाहा पाउँदा दुइ वटा कुरा मात्र मनमा आएको दाहाल स्मरण गर्छन् । ‘मर्छु भन्ने त लागेकै थिएन । जिब्रो आधा चिरेर फाल्नु पर्ने भएपछि बोली आउँछ कि आउँदैन भन्ने थियो र अब बोल्ने पेशा गर्न सकिदैंन भने अबको पेशा के हुने भनेर मन पिरोलिएको थियो,’उनी भन्छन् ।
राष्ट्रिय योजना आयोगको करारको जागिर खादैं गर्दा क्यान्सर देखिएपछि काठमाण्डौमा नै उपचार गराउने योजना थियो । तर, अप्रेशन पछि तत्काल रेडिएसन दिनु पर्छ भन्ने चिकित्सकको सल्लाहपछि रेडिएसनकै लागि चितवनस्थित क्यान्सर अस्पतालमा भर्ना भएर करीब एक महिना रेडिएसन सहित क्यान्सरका अन्य उपचार गरेपछि अहिलेसम्म कुनै समस्या नरहेको दाहाल बताउँछन् ।
राष्ट्रिय योजना आयोग, रुम टु रिड, एसियाली बिकास बैंकको सहयोगमा सञ्चालित सामाजिक आर्थिक अध्ययन परियोजना, न्यूएरा जस्ता संस्थाहरुमा काम सकेका दाहाल क्यान्सरको उपचार पछि झापास्थित घरमा आएर आराम गरेर बस्न थाले ।
घरमा करिव तीन वर्ष विताए । अब घरमै बसेर आयआर्जनको गर्ने वारे सोच्न सोच्न थाले । दाहालले गाउँघरकै दुध संकलन गरेर डेरी उद्योगलाई बिक्रि गर्ने योजना बनाए । आफ्नो योजना अनुसार मेचीनगरको एनएमसी डेरी उद्योगसंग उनले योजना शेयर गरे । उद्योगले योजना अनुसार दुध किन्ने बताएपछि दाहालले शुरुमा ४० हजारको लगानीबाट छरछिमेकीका दुध संकलन गरेर मोटरसाइकलमार्फत दैनिक डेरी उद्योगमा पुर्याउने काम गरे ।
दैनिक २० लिटर दुधबाट शुरु भएको चिस्यान केन्द्रले अहिले दैनिक ८ सय लिटर भन्दा बढी दुध संकलन गरेर डेरी उद्योगलाई बिक्रि गरिरहेको छ । चिस्यान केन्द्र शुरुवात भएको ४ बर्षमा लगानी समेत ४० हजारबाट बढेर करीब १० लाख पुगेको दाहाल बताउँछन् । भन्छन्,‘दुध पनि दैनिक बढिरहेको छ त्यहि अनुसार लगानी पनि बढ्दै गएको छ । यो लगानी यहिंबाट कमाएको पैसा नै हो ।’
अहिले दाहालको चिस्यान केन्द्रमा एक हजार लिटर र ४ सय लिटर दुध भण्डारण क्षमताका दुई वटा चिलिङ भ्याट छन । जसले गाउँबाट संकलन भएको दुधलाई चिसो पारेर राख्छ अनि डेरी उद्योगमा पठाउँछ । शुरुमा जस्तो दाहाल अहिले आफु डेरीमा दुध पुर्याउन जानु पर्दैन । अर्जुनधारा–१० चुथाइ स्थित घरमा सञ्चालन गरेको चिस्यान केन्द्रमा दुध लिन दैनिक उद्योगको ट्याकंर नै पुग्छ ।
दाहालका अनुसार चिस्यान केन्द्रको मासिक कारोबार १२ लाख बढी छ भने मासिक आम्दानी मात्रै करीब एक लाख छ । आम्दानीका बारेमा भन्छन्,‘चिस्यान केन्द्रले मलाई धेरै राम्रो आम्दानी दिएको छ । त्यसैले मैले अरु कुनै काम गर्ने कुरा सोचेको छैन । अहिले महिनामा एक लाख त सजिलै कमाइरहेको छु ।’ डेरी उद्योगबाट पैसा आए पछि किसानलाई घर घरमै पुर्याइदिने गरेको दाहालले सुनाए ।
दाहाल भन्छन्,‘पाक्षिक रुपमा डेरी उद्योगले रकम खातामा हाल्छ र त्यो रकम आफुलाई दुध दिने किसानलाई घर घरमै पुर्याइदिने गरेको छु ।’ दाहालले सुनाए,‘अहिले आनन्द छ ।’
रातोपोष्ट साप्ताहिकमा २०७७/१०/२१ गते प्रकासित ।