धुलाबारी, माघ १७ ।
झापा मेचीनगर १० लालपानीकी ६२ बर्षीया हिमादेवी पौडेलसंग कुराकानी गर्न सेतोपत्रकर्मी वहाँको घरमा पुग्दा हिमादेवी आफ्नै बारीमा तरकारी बाली हेरचाह गर्दै गरेको अवस्थामा भेटिनु भयो । ‘मेरो त दिन यही बारीमा नै बित्छ ।’ वहाँले भन्नुभयो, ‘क्यान्सरको बिरामी हो जस्तो लाग्नै छाडीसक्यो, सबै काम गरिरहेको छु ।’ हिमादेवी पाठेघरको सिष्टको क्यान्सर उपचार पछि अहिले पूर्णरुपमा स्वस्थ हुनुहुन्छ ।
२०६९ सालको मंसीरको अन्तिम तिरबाट हिमादेवीलाई अचानक पिसाब बन्द हुने समस्या शुरु भयो । पिसाब बन्द भए पछि वहाँ बेहोस नै हुन थाल्नु भयो । ‘कति पटक त शौचालयमा नै बेहोस भएर लडें ’ पौडेलले सेतोपत्रसंगको कुराकानीमा भन्नु भयो, ‘ करीब १० दिन जती तेस्तै भयो त्यस पछि मात्रै डाक्टर देखाउन गएं ।’
शुरुमा बिर्तामोडको एउटा अस्पतालमा डाक्टरले जाँच गरेर ५ दिनको औषधी खान दिएको हिमादेवी स्मरण गर्नु हुन्छ । उक्त औषधीले कुनै सुधार नभए पछि एक्सरे गर्दा डाक्टरले समस्या छ भन्दै थप उपचारका लागि भारत जान सल्लाहा दिनु भयो । ‘एक्सरे गरेर घर फर्कदा गाडीमा नै बेहोस भएछु ।’ हिमाले भन्नु भयो, ‘बुहारी निकुञ्जा साथमै थिइन उनैले लाश जस्तो अवस्थामा घरमा ल्याइपुर्याएको पछि थाहा पाएं ।’
हिमादेवीको जेठो छोरो निरज सहित परिवारका धेरै सदस्यहरु काठमाण्डौमा नै रहेकाले थप उपचार काठमाण्डौमा नै गर्न सजिलो हुने भएर परिवारको सल्लाहा अनुसार नै हिमादेवीलाई काठमाण्डौ लैजाने तयारी भयो । श्रीमान घनेन्द्र पौडेलको २०५० सालमा नै निधन भइसकेको र दुई छोरा र एक छोरी अध्ययनकै क्रममा रहेकाले देवर माधव पौडेल र देवरानी शोभा पौडेलले हिमादेवीलाई २०६९ पुस २३ गते उपचारका लागि काठमाण्डौ लैजानु भयो । शुरुमा हवाइ जहाजको टिकट काटेको थियो ।’ हिमाले भन्नु भयो, ‘बाक्लो हुस्सुले जहाज उडेन र रात्री बसमा मलाई काठमाण्डौ लगियो ।’
२०६९ पुस २५ गते ओम अस्पतालमा डा भोला रिजाललाई परिक्षण गराउँदा तत्कालै अप्रेशन गर्नु पर्ने बताए पछि भोली पल्टै अप्रेशन गरेर पाठेघरको सिष्ट निकालिएको हिमादेवी सुनाउनु हुन्छ । ‘अस्पताल पुर्याउँदा मलाई लाश जस्तै अवस्थामा पुर्याएका थिए ।’ वहाँले स्मरण गर्नु भयो, ‘ मेरो शरीर उठ्नै नसक्ने अवस्थामा थियो, म त पुरै सुतिरहेकै थिएं ।’
वहाँका अनुसार अप्रेशन गरेको ५ दिन पछि बायप्सीको रिपोट आयो त्यसमा क्यान्सर पुष्टी भयो । ‘छोराले आमालाई डाक्टरले आफैं भनिदिनु भनेछ ।’ वहाले भन्नुभयो, ‘मलाई डाक्टरले बोलाएर तपाइलाई ठुलो रोग लागेछ, पाठेघरबाट निकालिएको मासुमा क्यान्सर देखियो अब क्यान्सरको उपचार गर्नु पर्छ भन्यो ।’ त्यति सुन्ने बित्तिकै हिमादेवीले पढ्दै गरेका छोराछोरीको भविश्य सम्झिएर रोएको स्मरण गर्नु हुन्छ । आठ बर्ष अघिको कुरा सम्झेर वहाँले भन्नुभयो, ‘क्यान्सर लागेछ अब मरिहाल्छु, मेरा छोराछोरी टुहुरा हुने भए, तीनको बिजोक हुने भयो जस्तो लागेर म त डाक्टरकै अगाडी रोएं ।’
क्यान्सर भन्ने थाहा भएको भोली पल्टदेखि नै हिमादेवीलाई ओम अस्पतालमानै केमो चडाउन थालियो । परिवारका सबै सदस्यले हिमादेवीलाई निरन्तर उपचारमा सहयोग गरिरहे । पहिलो पटक केमो चडाउँदा औषधीले एलर्जी भएर रातभरि सुत्न नसकेको घट्ना अहिले भर्खरै जस्तो लागिरहेको हिमादेवीले सुनाउनु भयो ।
जम्मा ६ साइकल केमो दिए पछि हिमादेवीलाई डाक्टरले एक महिनाको आराम दिएको थियो । त्यो समयमा वहाँ घर फर्किनु भयो । २०७० जेठ १३ गते अन्तिम केमो दिए पछि वहाँ २०७० साउन २५ गते घर फर्किनु भएको हो । सिथिल भएको शरीर लिएर घर फर्किनु भएकी हिमादेवीलाई त्यतिबेला झन मन नै छिया छिया भयो जतिबेला छिमेकी र गाउँघरका मान्छेले डाक्टरले बाच्ने समय कति दिएको छ भनेर वहाँसंगै सोध्न आउँथे । वहाँ नाजवाफ भएर गाउँलेको कुरा एकोहोरो सुनिमात्रै रहनु हुन्थ्यो ।
घर आएर एक महिना पछि काठमाण्डौमा पुगेर सिटि स्क्यान गर्दा वहाँको शरीरमा क्यान्सर नभएको रिपोट आउँदा अब चैं बाच्छु कि भन्ने लागेको हिमादेवीले सुनाउनु भयो । ‘पछिल्लो पटक एक बर्षभन्दा बढी समय भयो डाक्टरलाई देखाउन नगएको तर पनि कुनै समस्या छैन ।’ वहाँले भन्नुभयो, ‘कोरोनाको डरले अस्पताल जान सकिन एक बर्ष हुन लाग्यो फलोअपमा गएको छुइन, समस्या केही छैन । अब फलोअपमा जाने तयारी गर्दैछु ।’
मेचीनगर ७ इटाभट्टास्थीत सरस्वती आधारभुत बिद्यालयमा अस्थाइ शिक्षकको रुपमा कार्यरत रहँदाकै समयमा क्यान्सर भएर करीब ८ महिना हिमादेवीले बिद्यालय जान सक्नु भएन । ‘परिवारका सदस्यले तेती बेलै अब जागिर छोड्नु भनेका थिए तर मैले मानिन ।’ वहाँले भन्नुभयो, ‘घर फर्किए पछि म स्कुल जान थालें तर परिवार सबैले जागिर खान पर्दैन भन्दैथिए तर म बिस्तारै स्कुल जाने र सकेको पढाउन थालें ।’ तत्कालिन अवस्थामा बिद्यालयका प्रधानअध्यापक एकराज नेपालले आफु बिरामी हुँदा बिद्यालयको बिदा मिलाउने काममा निक्कै सहयोग गरेको हिमादेवी बताउनु हुन्छ । वहाँले भन्नु भयो, ‘क्यान्सर भएर पनि पाँच बर्ष शिक्षकको रुपमा काम गरिरहें ।’ २०७५ सालसम्म आफुले अस्थाइ शिक्षकको रुपमा काम गरेको र पछि सरकारले दिएको अवसरमा सुविधा लिएर जागिर छोडेको हिमादेवी बताउनु हुन्छ ।
हिमादेवीको अहिलेको दैनिकी घरको काम र बारीमा सागसब्जी लगाउने मै बितिरहेको छ । त्यससंगै नयाँ घर पनि बनाउँदै हुनुहुन्छ हिमादेवी । ‘छोराहरुले नयाँ घर पनि बनाउन थालेका छन । बिहान हिडेका दुवै जना बेलुका मात्रै घर आइपुग्छन त्यसैले घर निर्माणको रेखदेख पनि बुहारी र मैले नै गर्नु पर्छ ।’ वहाँले भन्नुभयो, ‘अहिले त म आफैंलाई क्यान्सर रोगी थिएं भने जस्तै लाग्दैन ।’ वहाँ भन्नुहुन्छ, ‘घुँडा दुख्ने र थाइराइडले कहिले काँही दुःख दिन्छ तर क्यान्सर चैं अब मैले जितें जस्तो लागेको छ ।’
छोरी भावना बिवाह पछि ज्वाइ सहित काठमाण्डौ बस्ने हिमादेवीका जेठा छोरा निरजले बिर्तामोडमा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्नु भएको छ भने बुहारी पुजा हिमादेवीलाई घरायशी काममा सहयोग गरिरहनु भएको छ । त्यस्तै कान्छो छोरा निश्चल शिक्षण पेशामा रहनु भएको छ । क्यान्सर जीतेर पारिवारसंगको रमाइलोमा दिनहरु बितिरहेको हिमादेवी सुनाउनु हुन्छ । ‘मेरा परिवारका सदस्यहरु खासगरी छोरा, छोरी र देवर देवरानीको साथ, सहयोग र हौसलाले नै मैले क्यान्सरलाई जीत्न सकें ।’ वहाँ भन्नु हुन्छ, ‘क्यान्सर बेलैमा उपचार गर्दा पुर्ण रुपमा ठिक हुन्छ र त्यसका लागि पारिवारको सहयोगले रोग जित्न औषधीको काम गर्छ ।’