इटाभट्टा, माघ १६ ।।
मेचीनगर नगरपालिकाका सबै वडाहरुमा कम्तिमा २ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । बिहिबार सम्पन्न मेचीनगरको सातौं नगरसभामा नगरप्रमुख बिमल आचार्यले प्रस्तुत गर्नु भएको प्रत्येक वडामा दुई किलोमिटर सडक कालोपत्रे गर्ने प्रस्ताव सर्बसम्मतले पारित भएसंगै बहुबर्षे योजनाका रुपमा सडक कालोपत्रे गर्ने कार्य शुरु गरिने भएको हो ।
नगरपालिकाको स्रोतमार्फत नै मेचीनगरका १५ वडाका कम्तिमा ३० किलोमिटर सडक कालोपत्रे गरिने नगरप्रमुख आचार्यले सेतोपत्रलाई बताउनु भयो । नगरप्रमुख आचार्यका अनुसार कालोपत्रे गर्ने सडकको छनौट र प्रस्ताव वडा समिति मार्फत हुने र नगर कार्यपालिकाले स्वीकृत गरी योजना अघि बडाउने गरी नगरसभाले निर्णय गरेको हो । कोरोनाका कारण रोकिएका चालु आर्थिक बर्षमा प्रदेश र संघिय सरकारबाट स्वीकृत भएका योजनाहरु तत्काल सुचारु गर्ने समेत नगरसभाले निर्णय गरेको प्रमुख आचार्यले बताउनु भयो ।
त्यस्तै प्रत्येक वडामा एउटा पर्ने गरी खुल्ला फिटनेस सेन्टर र जेष्ठ नागरिक चौतारी सहितको चिल्ड्रेन पार्क निर्माणको थालनी गर्न समेत नगरसभाले निर्णय गरेको छ । आम जनजीवन र हरेक उमेर समुहका नागरिकको स्वास्थ्यलाई बिशेष ध्यान दिएर वडागत रुपमा
फिटनेस सेन्टर र जेष्ठ चौतारी सहितका चिल्ड्रेन पार्क निर्माण गर्न लागिएको उपप्रमुख मिना उप्रेतीले बताउनु भयो ।
सातौं नगरसभाले नगरबासीहरुको आँखा स्वास्थ्यलाई ध्यानमा राखेर मोतिया विन्दु, जलविन्दु, टेरिजिया लगायतका समस्याबाट कोही नगरवासीले आँखाको ज्योति गुमाउन नपरोस भन्ने उद्देश्यले जनतासँग नगर प्रमुख÷उपप्रमुख स्वास्थ्य कार्यक्रम चालु आर्थिक बर्षदेखि नै कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको उपप्रमुख उप्रेतीले बताउनु भयो ।
नगरका प्रत्येक वडामा कम्तिमा एउटा स्वास्थ्य चौकी स्थापना गरी सञ्चालन गर्ने र नगरका सवै सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षा र कम्प्यूटर शिक्षाका लागि आवश्यक शिक्षक तथा तालिमको व्यवस्था मिलाउने समेत योजना समेत नगरसभाबाट पारित भएको उपप्रमुख उप्रेतीले जानकारी दिनु भयो । उप्रेतीका अनुसार मेचीनगर ४ मा रहेको आर्युवेदिक अस्पताललाई नगरका अन्य क्षेत्रमा समेत बिस्तार गरी नगरबासीलाई आर्युवेदिक औषधीका बारेमा जानकारी गराइने छ ।
चालु आर्थिक वर्ष २०७७।०७८ का लागि छैटौ नगरसभाले रु १ अरव ३५ करोड ५८ लाखको आयव्यय सहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएकोमा २०७७ पुष मसान्तसम्म १९.२ प्रतिशत वित्तिय प्रगति हासिल भएको र योजना सम्झौताको प्रगति ५१ प्रतिशत रहेको सातौं नगरसभामा नगरप्रमुखले जानकारी गराउनु भएको थियो ।