धुलाबारी, माघ १६ ।
‘नेपालमा पहिलो पटक’ हाइब्रिड जातको ड्रागन फ्रुडको खेती झापाको मेचीनगरमा शुरु भएको छ । मेचीनगर १० स्थीत नागडुब्बाका भावना अधिकारीले हाइब्रिड जातको ड्रागन फ्रुडको खेति शुरु गर्नु भएको हो ।
यस अघि नेपालमा ड्रागन फ्रुडको खेति विभिन्न ठाउँमा शुरु भएको भए पनि ती सबै लोकल जातको भएको र हाइब्रिडको बिरुवा लगाएर खेति पहिलो पटक आफैंले शुरु गरेको अधिकारीले सेतोपत्रलाई बताउनु भयो । भारतको हैदराबादस्थीत डेकन एक्जोटिक्सले उत्पादन गरेको सि भेराइटिको उन्नत जातको ड्रागन फ्रुडको बिरुवा ‘नेपालमै पहिलो पटक’ भित्र्याएर रोप्ने काम गरेको अधिकारीले बताउनु भयो ।
तीन बिगाहा जग्गामा ड्रागन फ्रुडको खेति गर्ने योजना रहेको भए पनि शुरुमा १५ कठ्ठामा ३ हजार बिरुवाबाट खेति शुरु गरेको पाराडाइस एग्रो फार्मकी सञ्चालक समेत रहनु भएकी अधिकारीले बताउनु भयो । ड्रागन फ्रुडको खेतिसंग आत्याधुनिक कृषि प्रणाली अपनाउनका लागि पाराडाइस एग्रो फार्म सञ्चालनमा ल्याएको वहाँले बताउनु भयो । ‘हामी एकै पटक तीन बिगाहामा नै ड्रागन फ्रुडको खेति गर्ने तयारीमा थियौं तर उन्नत जातको बिरुवा पाउनै मुश्किल हुने रैछ ।’ अधिकारीले भन्नु भयो,‘ धेरै मेहनत गरे पछि मात्रै ३ हजार बिरुवा पायौं त्यसैबाट खेति शुरु गरेका छौं ।’
ड्रागन फ्रुडको खेतिका लागि जमिन तयारी र बिरुवा लगाउँदासम्म करीब २५ लाख रुपैयाँ खर्च भइसकेको बताउने अधिकारीलाई कृषि कर्ममा वहाँका पति नेपाल प्रहरीका प्रहरी उपरीक्षक समेत रहनु भएका दिपक पोखरेलले सहयोग गरिरहनु भएको छ । ‘पुर्खौली जमिन बेच्न मन भएन अन्य खेति गर्दा खर्च मात्रै बढी हुने भए पछि श्रीमतीकै इच्छा अनुसार ड्रागन फ्रुडको खेति शुरु गरेका छौं ।’ पोखरेलले भन्नु भयो,‘मैले त बाहिरबाट अलिअलि सहयोग गर्ने मात्रै हो कृषि फार्मको सबै काम श्रीमतीले नै हेर्ने हो ।’ पोखरेलका अनुसार यो जातको बिरुवा छिटो बड्ने, राम्रो फल दिने र रोगसंग लड्न सक्ने क्षमता पनि धेरै भएको हुन्छ ।
हैदराबादबाट रोप्ने ठाउँसम्म आइपुग्दा एउटा बिरुवाको दाम नेपाली रुपैयाँ तीन सय परेको पोखरेलले बताउनु भयो । ‘करीब ९ लाख भन्दा बढी त बिरुवा खरिदमा नै खर्च भएको छ ।’ पोखरेलले भन्नु भयो, ‘ड्रागन फ्रुडका लागि सिमेन्टको पिल्लर बनाउनु पर्ने लगायतका जमिन तयारीको काममा धेरै पैसा खर्च हुदों रैछ ।’
यो जातको ड्रागन फ्रुड बिरुवा लगाएको ८ महिनादेखि फल लाग्न शुरु हुन्छ । तर जेठ महिनामा फल लाग्न शुरु हुने र कार्तिकसम्म फल लाग्ने भएकाले यो बर्षको सिजनको अन्त्यतिर मात्रै आफ्नो खेतिमा फल लाग्ने सभ्भावना रहेको अधिकारीले बताउनु भयो । वहाँका अनुसार जेठमा नै ८ महिना पुगेको भए जेठ देखि नै फल लाग्ने थियो तर माघको दोस्रो साता रोपेको बिरुवा असोज दोस्रो सातामात्रै ८ महिना पुग्ने भएकाले सिजनको अन्तिम समयमा मात्रै यो बर्षको केही फल लाग्ने अनुमान छ । अधिकारीको फार्ममा अहिले १० जना कामदारले दैनिक काम गरिरहेका छन ।
फल लाग्न शुरु भए पछि २० देखि २५ बर्षसम्म फलिरहने ड्रागन फ्रुड हरेक बर्षको जेठदेखि कार्तिकसम्म फल्ने गर्छ । नेपाली बजारमा अहिले उन्नत जातको ड्रागन फ्रुडको मुल्य प्रति केजी ७ सय छ भने लोकल जातको मुल्य प्रति केजी ४ सय छ । ड्रागन फ्रुड अन्तराष्ट्रिय रुपमा निक्कै लोकप्रिय फलको रुपमा परिचित छ ।