झापा, माघ १५ ।
संसद विघटन बिरुद्ध पुर्वी नेपालको सिमान्त शहर काकरभिट्टाबाट नागरिक आन्दोलन शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पहिलो पटक नागरिक अगुवाहरु ‘प्रतिगमन बिरुद्धको आन्दोलन’मा सडकमा ओर्लिएका हुन ।
काँकडभिट्टामा भएको नागरिक खबरदारी सहितको प्रदर्शनमा विभिन्न पेशा व्यवसाय, राजनीतिक दल, संघ संस्थामा आवद्ध नागरिकले आयोजना गरेको ‘प्रतिगमनविरूद्धको आन्दोलन’मा प्रधानमन्त्री ओलीको कदमको विपक्षमा रहेका दलहरू पनि सहभागी भएका थिए ।
शिक्षक, पत्रकार, सहकारीकर्मी, राजनितिक दलका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको आन्दोलनमा कुनै पनि दलको झण्डा थिएन । उक्त आन्दोलनका क्रममा लगाइएको नारा पनि भिन्न थियो ।
लोकतन्त्र मास्न पाइन्न
जनमतको हत्या सहिन्न
नागरिकमाथिको दमन सहिन्न
खड्ग ओलीको अभिमान
हत्या भयो संविधान
डगमगायो स्थायित्व
खै राष्ट्रपतिको दायित्व ?
संविधानलाई कुल्चेर
नैतिकतालाई बिर्सेर
चुटकिला अझै जारी छ
जनतालाई दुखको भारी छ ।
जस्ता नारा गुञ्जाएर युवाहरुको अगुवाइमा आज नागरिक आन्दोलन शुरु भएको थियो । युवाहरुको अगुवाइमा भएको आन्दोलनमा दलका नेता र कार्यकर्ताहरु भने पछि पछि युवाहरुलाई साथ दिइरहेका देखिन्थे ।
कार्यक्रममा युवा अभियन्ता तथा प्राध्यापक सागर शिवाकोटी र बिद्यार्थी संस्कृति रिजालले प्रधानमन्त्रीको कदम किन प्रतिगमन हो भन्ने बिषयमा धारणा राखेका थिए । युवाहरुले तत्काल संसद पुर्नस्थापनाको माग गरेका थिए । काठमाण्डौमा मात्रै सिमित संसद विघटन बिरुद्धको नागरिक आन्दोलन पुर्वी किनारबाट पहिलो पटक झापामा समेत शुरु भएको छ ।