मेचीनगर, माघ १४ ।
कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु भएको पहिलो दिन आज झापामा ५३५ जनाले ‘कोभिसिल्ड’ खोप लगाएका छन ।
झापाका तीन वटा खोप केन्द्रहरु खोप लगाउनेहरुको संख्या ५३५ भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७६, अनारमनी नगर अस्पतालमा ३१४ र दमक केन्द्रमा १४५ जनाले कोभिसिल्ड खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो ।
चौलागाइका अनुसार कोभिसिल्ड खोप लगाउनेमा पुरुषको भन्दा महिलाको संख्या धेरै छ । तीनवटै खोप केन्द्रमार्फत खोप लगाउनेमा २१८ जना पुरुष रहेका छन भने महिलाको संख्या ३१७ रहेको छ ।
झापामा पहिलो पटक आज विहान भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कन्सलटेन्ट डा. मनिस सुवेदी र जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन चौंलागाँईले खोप लगाएर कोरोना विरुद्धको खोप कोभिसिल्ड खोप अभियानको प्रारम्भ गरिएको थियो ।
पहिलो चरणमा अग्रभाग (फ्रन्टलाईन) मा काम गर्नेलाई फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयमसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयमसेविका, अन्तराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।
खोप लगाउने सरकारी निर्णय अनुसार झापामा कोभिसिल्ड लगाउनका लागि ३ वटा खोप केन्द्र तय गरिएको चौंलागाँईले जानकारी दिनुभयो ।
झापामा पहिलो चरणमा खोपको प्राथमिकता अनुसार ९ हजार जनामा खोप लगाउनुपर्ने सूचीकरण गरिएको बताइएको छ ।