नेपाली काँग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिनाका लागि थपेको छ । हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले ११ वटा भ्रातृ संघको म्याद थप गरेको हो । जसअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुनेछ ।बैठकले नेपाली जनसम्पर्क समिति कतार, बहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गरेको छ ।
नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ भने जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको छ । ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७४ जिल्लामा समायोजन सकिएको छ ।
त्यसमध्ये सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँकेलगायतका जिल्लाको केही स्थानको पुनरावलोकन आएको छ । साथै सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजन बाँकी छ । बैठकले समायोजनसम्बन्धी बाँकी काम यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको छ ।