धुलाबारी, माघ १० ।
नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाइराख्नका लागि मात्रै संसद विघटन गरेको बताउनु भयो । संसद विघटन र प्रतिगमन बिरुद्ध मेचीनगरस्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्ड नेपाल पक्षीय नेता पाण्डेले ओलीको सत्ता प्रतिको लम्पसारबादले नै आजको दिन आएको बताउनु भयो । वहाले भन्नु भयो‘आफु सत्तामा बसिरहन ओलीले जस्तो सुकै सम्झौता पनि गर्ने तर कार्यान्वयन गदैनन । त्यसमा नेकपाका शीर्ष नेताहरु पनि भ्रममा पर्नु भएको छ ।’
पुर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले लोकतान्त्रीक ब्यवस्थामा छलफल र बहस हुनुपर्नेमा प्रधानमन्त्री ओली पार्टीकै बैठकमा नजानेबाटै ओली निरकुंशता तर्फ लागेको पुष्टी हुने बताउनु भयो । संविधानमा नै नभएको अधिकार प्रयोग गरेर गरिएको संसद विघटन फिर्ता हुने र नेपाली राजनिति पुन सहि ठाउँमा आउने नेता पाण्डेले बताउनु भयो ।
झापाको धुलाबारीस्थीत पासाङल्हामू स्मृति प्रतिष्ठानमा भएको कार्यक्रममा बोल्दै नेकपाका नेता तथा झापा क्षेत्र नं. १ सांसद राम कार्कीले लोकतन्त्रमा कचकच भइरहने भन्ने कुनै प्रधानमन्त्री ओलीले नबुझेकाले संसद विघटन गरेको बताउनु भयो । ‘प्रजातन्त्र, लोकतन्त्र भनेकै कचकच हो तर ओलीलाई कसैले प्रश्नै गर्न नहुने रैछ त्यसैले असंवैधानिक कदम चाले ।’ नेता कार्कीले भन्नु भयो,‘परिवारका सदस्यले कचकच गरे भनेर घर मुलीले घरमा नै आगो लगाउनुलाई कुनै ढंगबाट पनि सहि भन्न सकिदैंन ।’ अब मदजुर किसानको जनतन्त्र स्थापना हुने कार्कीले दाबी गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाले असंवैधानिक र अलोकतान्त्रीक कार्यको जति भत्सना गरे पनि कम नै हुने बताउनु भयो । कोइरालाले प्रधानमन्त्री ओलीले गरेको गलत कदम बिरुद्ध झापा देखि उठेको बलियो आवाज देश भरि छरिने छरिने बताउनु भयो ।
नेकपाका केन्द्रदेखि जिल्ला र स्थानीयस्तरका नेता कार्यकर्ताको सहभागिता रहेको बिरोध कार्यक्रममा युवा नेताहरु राजु धिमाल, दुर्गा धमला, चन्द्रा श्रेष्ठ लगायतले ओलीको प्रतिगमनलाई परास्त नगरेसम्म आन्दोलन जारी राख्न युवाहरुको सहभागिता रहने बताएका थिए । कार्यक्रम नेकपा जिल्ला सदस्य डिल्लीराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
धुलाबारी चोकमा भेला भएर नेकपाका प्रचण्ड नेपाल पक्षीय नेता कार्यकर्ताले संसद विघटन बिरुद्ध नाराबाजी गर्दै धुलाबारी बजार परिक्रममा सहित सभा स्थल टाउन हल पुगेका थिए ।