काकरभिट्टा, माघ १० ।
क्यान्सर जस्तो घातक रोग लागेका मान्छेहरुको दैनिकी कसरी बितिरहेको छ भनेर धेरैलाई लाग्न सक्छ । उनीहरु सामान्य जीवन जीउन सक्छन कि सक्दैनन भनेर धेरैलाई लागेको हुन सक्छ । तर क्यान्सर जीतेर सामान्य मानिस सरह आफ्नै नियमित काममा उत्तिकै सक्रिय जीवन चलाइरहेकाहरु मध्येका एक हुन झापा मेचीनगर ६ काकरभिट्टास्थीत शान्तिरमाइलो गाउँका ५० बर्षीय शंकर भट्टराई ।
भट्टराईलाई तीन बर्ष अघि नाक र घाँटी जोडिएको ठाउँमा क्यान्सर भएको थियो । जसलाई चिकित्सकीय भाषामा नेजोफ्रेन्जोल क्यान्सर भनिन्छ । ‘करीब दुई बर्षको उपचार पछि म अहिले पूर्ण रुपमा स्वस्थ्य भएको छु ।’ भट्टराईले भन्नु भयो,‘ उपचार प्रक्रिया अलि लामो हुँदा कहिले काहि दिक्क लाग्दो जीवन पनि भोग्नु पर्यो तर अहिले ठिक भएर आफ्नो काममा सक्रिय छु ।’
भट्टराईको दाहिने कानको तल पट्टि सानो गाँठो निस्किएको थियो । त्यो गाँठो दुखेको पनि थिएन तर बिस्तारै बढ्दै गयो । २०७४ सालको मंसीर दोस्रो साता भारतको सिलिगुढी पुरेर चिकित्सकको सल्लाहा लिंदा एफएनएससी परीक्षण गराउन भन्ने सल्लाहा भयो । दाहिने कानको तल पट्टिको गाँठोबाट पानी निकालेर एफएनएससी परीक्षण गराइयो । २०७४ मंसीर २१ गते रिपोट आउँदा त्यो गाँठो क्यान्सर भएको पत्ता लाग्यो ।
क्यान्सर भएको थाहा पाउँदा शुरुमा त भट्टराई अचम्मित हुनु भयो । ‘शरीरमा कुनै समस्या नै छैन कसरी क्यान्सर भयो ।’ भट्टराईले भन्नु भयो,‘मेरो शरीर पुरै स्वस्थ्य थियो, कतै केही समस्या थिएन तर क्यान्सर भयो भन्दा शुरुमा त शक् भएँ ।’ वहाँले भन्नु भयो,‘शुरुमा अचम्म परें पनि म आत्तिन चैं आत्तिइन, म सचेत नै थिएं । शरीरमा कुनै समस्या पनि नभएको र बंशाणुगत रुपमा पनि परिवारमा कसैलाई यस अघि कसैलाई क्यान्सर भएको थिएन त्यसैले केही असजिलो चैं भयो ।’
‘क्यान्सर भएको थाहा पाउँने बित्तिकै मरिहल्छु भन्ने त लागेन ।’ भट्टराईले भन्नु भयो,‘तर यो क्यान्सर शरीरको कुन कुन भागमा फैलिइसक्यो भन्ने चैं सोचें ।’ भट्टराई स्मरण गर्नु हुन्छ,‘क्यान्सर भएको थाहा पाउने बित्तिकै उपचारका लागि दिल्ली जाने निर्णयमा पुगें र थाहा पाएको तीन दिनमा दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा पुगेर उपचार शुरु गरें ।’
उपचार शुरु भए पछि पिडादायी समय बिताएको अनुभव भट्टराइले सुुनाउनु भयो । उपचारको शुरुवातमा खना नरुच्ने, वाकवाकी आउने, घाउ पाकेर दुख्ने समस्या भएको वहाँले सुनाउनु भयो । भट्टराईलाई एक बर्षको समयमा ३१ वटा रेडिएसन दिइएको थियो ।
शुरुमा करीब एक सय दिन दिल्लीमा बसेर उपचार गराइएको र त्यस पछि १५ दिन घर आएर बसेको भट्टराईले सुनाउनु भयो । १५ दिन पछि ९६ घण्टा लगाएर केमोथेरापी गरेको, दोस्रो पटक पनि १५ दिन पछि लगातार ९६ घण्टा लगाएर केमो चडाएको वहाँले बताउनु भयो । उपचार शुरु भएको चार महिना भट्टराईले झोल पदार्थ त्यसमा पनि बिशेष पानी मात्रै खाएर बाचेको सुनाउनु भयो । ‘त्यो समय मेरा लागि निक्कै पीडा दायी थियो ।’ वहाँले भन्नु भयो ।
उपचार सकेर एक बर्ष घरमा आराम गरेर बसें । तर त्यो बेला पनि काकरभिट्टाबाट हेटौंडासम्म आफैं गाडी चलाएर गएको भट्टराईले सुनाउनु भयो । वहाँले सेतापत्रसंग भन्नु भयो‘डाक्टरले आराम गर्नु भनेर घर पठाएको थियो, जरुरी काम पर्यो गाडी चलाउने मान्छे भएन मैले आफैं गाडी चलाएर हेटौंडा पुगेर आएं ।’ आत्मबल बनाएरै क्यान्सर जीतेको भट्टराई बताउनु हुन्छ । डाक्टरकै सल्लाहामा आर्युवेदिक औषधी पनि खाएको वहाँले सुनाउनु भयो ।
करीब एक बर्षको आराम पछि केही काम गर्न शुरु गरेको बताउने भट्टराई अहिले आफ्नो नियमित काममा ब्यस्त हुनुहुन्छ । ब्यवशायसंगसंगैं सामाजिक सेवामा समेत सक्रिय भट्टराई अत्यन्तै मिलनसार र मृदुभाषिका रुपमा चिनिनुहुन्छ ।
क्यान्सर पछि नै भट्टराई सहितको समुहले पुर्वी नेपालमा पहिलो पटक बहुगुणी र बहुमुल्य औषधीजन्य बनस्पती केशरको खेती समेत शुरु गर्नु भएको छ । स्थानीय बिरबहादुर कटुवाल सहित अन्य साथीहरुसंग मिलेर भट्टराई केशर खेतीमा समेत लाग्नु भएको छ । इलामको माइजोगमाइ र सन्दकपुर गाउँपालिकामा अहिले भट्टराई समेत सम्मिलित जौबारी मल्टीपर्पज एग्रीकल्चर प्रालीले केशर खेती गरिरहेको छ ।
ट्राभल्स संघ झापाका पुर्व अध्यक्ष समेत रहनुभएका भट्टराई पर्यटन ब्यवशायमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । केशर खेती मार्फत नेपालको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने वहाँ बताउनु हुन्छ । लक्ष्मी एजुकेशन कन्सल्टेन्सी मार्फत नेपाली बिद्यार्थीहरुलाई भारतको विभिन्न युनिभर्सिटीमा अध्ययन गर्न सहजीकरणको काम समेतमा लागि रहनु भएका भट्टराईले क्यान्सर पिडितहरुका लागि सहयोग गर्ने एउटा भिन्नै संस्था सञ्चालन गर्ने सोच समेत बनाउनु भएको छ ।
क्यान्सर रोग लागेर उपचार गराउँदा परिवारको सहयोगले उर्जा मिलेको सुनाउने भट्टराई बिरामी हुँदा पारिवारीक सहयोगले पीडादायी समय कटाउन सजिलो भएको सुनाउनु हुन्छ । क्यान्सर लाग्ने बित्तिकै मानिस नमर्ने तर सुरक्षीत हुनु पर्ने भट्टराईको सुझाव छ । ‘हाम्रो समाजमा क्यान्सर लागे पछि मरिहाल्ने वा उपचार गरे पनि धेरै समय नबाँच्ने र पहिला जस्तै गरी काम गर्न नसक्ने जस्ता गलत हल्लाहरु छन जुन कुरालाई सबैले चिरेर सकरात्मक कुरा समाजमा स्थापित गर्नु पर्छ ।’ भट्टराई भन्नु हुन्छ,‘डाक्टरको सल्लाहा अनुसार आफ्नो जीवनशैलीलाई ब्यवस्थीत गर्न सके क्यान्सरको उपचार पछि सबै मानिस सामान्य रुपमा जीवनयापन गर्न सक्छन ।’
झट्ट हेर्दा क्यान्सर लागेको जस्तो नदेखिने भट्टराईका श्रीमती र दुई छोराहरु हुनुहुन्छ । आफ्नो नियमित काममा सक्रिय हुन सके क्यान्सर भएको जस्तो कुनै आभास नहुने भट्टराईको बुझाई छ । क्यान्सरलाई अरु सामान्य रोग सरह कै रुपमा लिएर त्यसको उपचारमा बिशेष ध्यान दिन भट्टराई सबैलाई सुझाव दिनु हुन्छ ।